मन्त्री पद नै फुत्किएका शर्मालाई समितिले बचायो, खुमलटारमा खुसीयाली

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संसदीय विशेष छानविन समितिले बचाएको छ ।

समितिले शुक्रबार बुझाएको प्रतिवेदनमा माओवादी केन्द्रका नेता समेत रहेका शर्मालाई सफाइ दिने गरेर प्रतिवेदन तयारी पारी बुझाइएको हो ।

अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर समितिले गरेको छ ।

समितिले करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक नरहेको जनाएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन प्रस्तुत गरेका छन् ।
शर्माले सफाइ पाएपनि केही विषयमा महत्वपूर्ण सुझाव दिइएको छ ।

प्रतिवेदनमा सीसीटीभी जडान तथा सञ्चालन निर्देशिका, २०७२ लाई अर्थ मन्त्रालय र निर्देशिका जारी गर्ने गृह मन्त्रालय समेतले पूर्ण रूपमा पालना नगरेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा सीसीटीभी जडान गर्ने सम्पूर्ण सरकारी निकायले अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिइएको छ ।

सिंहदरबार परिसरभित्र प्रवेश गर्ने र बाहिर निस्किने व्यक्तिको व्यवस्थित अभिलेख राख्ने कार्य गर्न पनि समितिले सुझाव दिएको छ ।

बजेट निर्माणको गोप्य कक्षमा काम गर्ने कर्मचारीहरूले बजेट तर्जुमाको कार्यमा संलग्न पदाधिकारी र कर्मचारीहरूको जिम्मेवारी सम्बन्धी विधि अनुसार उक्त कक्षभित्र ल्याण्डलाइन फोन र मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था भएकोमा सूचना आदान प्रदानका अन्य माध्यमहरूलाई पनि प्रयोग गर्न नपाउने गरी समयानुकूल परिमार्जन गर्नुपर्नेलगायतका सुझाव दिएको छ ।

छानविन समिति बनेपछि शर्माले अर्थ मन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसैबीच, एमालेले समितिको प्रतिवेदनमा फरक मत राखेको छ । एमालेले अनधिकृत व्यक्तिको प्रवेश भएको थिएन भनेर निष्कर्ष निकाल्न नसकिने जनाएको छ ।

एमाले सांसद सदस्यहरूले अनधिकृत भनेर भनिएका व्यक्ति लगायत छानबिनको दायरामा रहेका व्यक्तिहरूको कल डिटेल र मोबाइल लोकेसन हेर्न नदिइएको फरक मतमा उल्लेख गरेका छन् ।

शर्मालाई समितिले बचाएपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राहत मिलेको छ । खुमलटारमा खुसीयाली छाएको छ ।

Published : Friday, 2022 July 29, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया