‘बिचौलिया’ अमितको नाममा विदेशी बैंकमा करोडौं रकम भेटियो, चोलेन्द्र फस्ने खतरा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नुवाकोट स्थायी घर भएका ४१ वर्षीय अमित श्रेष्ठलाई पक्राउ गरेको छ ।

श्रेष्ठलाई विदेशी बैंकमा करोडौं रुपियाँ शंकास्पद कारोबार गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एवम् एसपी दिनेश मैनालीले बताएका छन् ।

श्रेष्ठको घर नुवाकोटको विदुर नगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–३ पानीपोखरीमा बस्दै आएका छन् ।

श्रेष्ठमाथि प्रहरीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा अनुसन्धान अघि बढाएको छ ।
श्रेष्ठबाट प्रहरीले दुई–दुई वटा मोबाइल र ल्यापटप बरामद गरेको छ ।

बरामद भएका उपकरणको विश्लेषण गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ ।

परीक्षण गरी प्राप्त भएको प्रारम्भिक प्रतिवेदनबाट श्रेष्ठको नामको विभिन्न खातामा शंकास्पद कारोबार भएको देखिएको छ ।

श्रेष्ठको नाममा कमन–वेल्थ बैंक अफ अस्ट्रेलियामा एक लाख ९४ हजार २८५.५६ डलर, रोयल बैंक अफ क्यानडाबाट १८ लाख ७४ हजार ४२१.३८ डलर र रोयल बैंक अफ क्यानडामा सेयर समेत कारोबार गरेको देखिएको प्रहरी उपरीक्षक मैनालीले पत्रकारहरूलाई बताएका छन् ।

मैनालीका अनुसार श्रेष्ठले नेपालका विभिन्न बैंकहरूमार्फत् नेपाली कम्पनीहरूमा पनि सेयर लगानी गरेका छन् ।

नेपालका विभिन्न बैंक खातामा रहेको तीन करोड ३० लाख ९१ हजार रूपियाँभन्दा धेरै रकममार्फत श्रेष्ठले विभिन्न कम्पनीहरूमा सेयर लगानी गरेको खुलेको छ ।

श्रेष्ठको एक बैंक खातामा ६७ हजार ५९६ क्यानडियन डलर रहेको पनि पाइएको छ ।

काठमाडौं–१४ कलंकीमा जग्गा, लाजिम्पाटमा जग्गा, पानीपोखरीमा अपार्टमेन्ट गरी जम्मा चार लाख ४९ हजार १९ डलर बराबरको सम्पत्ति पनि देखिएको मैनालीले बताएका छन् ।

श्रेष्ठको खातामा भएका रकम तथा कारोबारहरू शंकास्पद देखिएपछि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

श्रेष्ठले एउटी पत्नीलाई दुःख दिएर डिभोर्स समेत दिइसकेका छन् ।

निलम्बनमा परेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका भाई प्रभुशम्शेर जबरासँग श्रेष्ठको निकै घनिष्ट सम्बन्ध छ । श्रेष्ठले चालेन्द्रको अबैध धन विदेशमा लगेर राखिदिएको आरोप पनि छ ।

चालेन्द्र, प्रभुको अबैध सम्पत्ति श्रेष्ठले क्यानडामा बस्दै आएका ज्ञवाली थरका नेपाली मूलका क्यानेडियन नागरिकमार्फत व्यवस्थापन गर्दै आएको आरोप पनि छ । सो विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

श्रेष्ठलाई छुटाउन नेपाली कांग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वर नरसिंह केसीसहित नेपाल प्रहरीका हालै अवकास लिएका पूर्वएआईजी, बहालवाला केही एआईजी र डीआईजीहरू पनि लागेका छन् ।

पक्राउ परेका अमित श्रेष्ठले धेरै व्यक्तिलाई ठगी पनि गरेका छन् । केही व्यापारी र व्यक्तिको करोडौं रुपियाँ लगेर फिर्ता समेत गरेका छैनन् । पैसाको भरमा प्रहरी परिचालन गरेर उनले धेरै व्यक्तिलाई दुःख पनि दिएका छन् ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कसूरमा संलग्न १ जना व्यक्ति पक्राउ

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाण्डौको पत्रसाथ जिल्ला प्रहरी परिसर काठमाण्डौमा दाखिला हुन आएका जिल्ला नुवाकोट बिदुर नगर पालीका वडा नं. २ घर भई हाल जिल्ला काठमाण्डौ काठमाण्डौ महानगर पालीका वडा नं. ३ पानी पोखरी बस्ने वर्ष ४१ को अमित श्रेष्ठको साथबाट बरामद भएका मोवाइल थान-२ र ल्यापटप थान-२ नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान बिभाग डिजिटल फरेन्सिक ल्यावबाट परीक्षण गरिँदा प्राप्‍त हुन आएको परीक्षण प्रतिवेदन प्रारम्भिकरुपमा बिश्‍लेषण गर्ने क्रममा निज अमित श्रेष्ठको नाममा रहेको निम्न लिखित खाताहरुमा निम्न परिमाणको रकम रहेको पाइएको ।
निम्नः
क) बैंक खाताहरू:
१. Common-Wealth Bank of Australia $1,94,285.56 रकम कारोवार भएको ।
२. Royal Bank of Canada $1,87,4421.38 रकम कारोवार भएको ।
३. Royal Bank of Canada बाट शेयर कारोवार समेत देखिएको ।
४. Everest Bank Ltd. को खाताबाट रु. २,०६,०६,६९२।- ( अक्षरेपी दुई करोड छ लाख छ हजार छ सय बयानब्बे) र NIC Asia Bank Ltd को खाताबाट रु. ६५,२४,९१०। ( अक्षरेपी पैसठ्ठी लाख चौबीस हजार नौ सय दश ) गरी नेपालमा बिभिन्न कम्पनीहरुमा सेयर लगानी रहेको पाइएको ।
५. Nabil Bank Ltd Nepal मा Canadian $ 67,596.00 र ने.रू. ६५,००,०००।– (अक्षरेपी पैसठ्ठी लाख) देखिएको ।
काठमाण्डौ महानगरपालीका वडा नं. १४ कलंकीमा जग्गा, ऐ महानगरपालीका वडा नं. ३ लाजिम्पाटमा जग्गा, ऐ पानीपोखरीमा 3A2 अपार्टमेन्ट गरी जम्मा $ 4,49,019 को सम्पत्ति रहेको ।
उक्त रकम तथा कारोवार शंकास्पद भएकोले निज अमित श्रेष्‍ठउपर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्‍त भई जिल्ला प्रहरी परिसर काठमाण्डौबाट थप अनुसन्धान कार्य भई रहेको ।

Published : Monday, 2022 July 25, 11:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया