चीन समर्थक ‘दलाल’हरूद्वारा प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध सार्वजनिक कार्यक्रममा नाराबाजी भएको छ ।

सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको राष्ट्रिय विभूति भीमसेन थापाको २४८औं जन्मजयन्तीको अवसरमा आयोजित भीमसेन थापा स्मृति पुरस्कार प्रदान समारोहमा केही युवाहरूले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका हुन् ।

ती युवाहरूले ‘राष्ट्रिय एकताको रक्षा गरौं’, ‘स्वाधीनताको रक्षा गरौं’, ‘नागरिकता विधेयक खारेज गर’, ‘एमसीसीको मतियार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

प्रधानमन्त्री देउवाविरुद्ध नारावाजी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुन पौडेल, सोम शर्मा र विप्लव खड्का रहेका छन् । प्रहरीका अनुसार उनीहरूले आफूलाई स्वतन्त्र नागरिक बताएका छन् ।

यद्यपि, उनीहरू चीन समर्थक रहेको आरोप लागेको छ । एमसीसीको विरोध गरेका ती युवाहरू चीन समर्थक र चीनको उक्साहटमा नारावाजी गरेर प्रधानमन्त्री देउवाविरुद्ध प्रदर्शन गरेको आरोप छ ।

काठमाडौं प्रहरी कार्यालयका प्रमुख भरतबहादुर बोहराले पक्राउ परेका तीन जनालाई मालिगाउँ प्रहरी वृत्तमा राखिएको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भीमसेन थापाजस्ता वीरहरूको विषयमा नयाँ पिंढीलाई जानकारी गराउन आवश्यक रहेको बताएका छन् ।

देउवाले वीर शहीदहरूको अध्ययन, अनुसन्धान र प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रधानमन्त्री देउवाले भीमसेन थापाले नेपालको स्वाधीनता र राष्ट्रियतालाई जोगाउन खेलेको भूमिका अतुलनीय रहेको बताए ।

उनले पृथ्वीनारायण शाहको पालाबाट शुरु गरिएको नेपालको एकीकरणको कार्यलाई अघि बढाउन भीमसेन थापाको भूमिकाको प्रशंसा गरेर नसकिने बताए ।

प्रधानमन्त्री देउवाले भीमसेन थापाले मुलुकको अर्थतन्त्रको सुदृढीकरणका लागि तराईको आवादी वृद्धि गरी राज्श्व वृद्धि गर्ने, बजारको व्यवस्था गरी आर्थिक कारोबार बढाउने, मानापाथीलाई प्रचलनमा ल्याई नापतौललाई व्यवस्थित गर्ने जस्ता महत्वपूर्ण आर्थिक सुधारका कार्यहरू गरेको बताए ।

Published : Monday, 2022 July 25, 6:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया