मधेश कांग्रेसको उर्वर भूमि हो, गुनासो नआउने गरी काम गर्नुस् : उप–सभापति खड्का

बर्दिबास । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले मधेश कांग्रेसको उर्वर भूमि रहेको भन्दै मधेशका मुद्दालाई कांग्रेसले मात्रै पूरा गर्न सक्ने बताएका छन् ।

आइतबार महोत्तरीको बर्दिबासमा नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजना गरेको कार्यक्रममा खड्काले कांग्रेसले मधेशका मुद्दा पूरा गर्दै आएको बताए ।

उप–सभापति खड्काले भने, ‘मधेश कांग्रेसको उर्वर भूमि हो । यसलाई बचाएर लैजानुपर्छ । कांग्रेसले जहिले पनि मधेशलाई सम्झिएको छ । मधेशले पनि कांग्रेसलाई सम्झिनुपर्छ ।’

उप–सभापति खड्काले माओवादीसहितका दलहरूसँग केन्द्रीय कार्यसमितिले नै गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकाले सोहीअनुसारको काम गर्नुपर्ने बताए ।

‘कांग्रेसले गठबन्धन गरेको छ । शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइरालाले सात दलसँग गठबन्धन गर्नुभएको थियो’, उनले भने, ‘त्यस बेला पनि गठबन्धन भएको थियो । गिरिजाबाबुले त्यस बेला एमालेसहितका दलसँग गठबन्धन गर्नुभएको होइन ? त्यो गठबन्धनलाई स्मरण गर्नुपर्छ कि पर्दैन ?’

उनले भने, ‘पहिला पनि गठबन्धन भएको थियो । गिरिजाप्रसाद कोइरालाले १२ बुँदे सहमति गर्न एमालेसँग गठबन्धन नै गर्नुभयो ।’

उप–सभापति खड्काले कांग्रेसबाट जनप्रतिनिधिहरूले कुनै पनि गुनासा आउने गरेर काम नगर्न निर्देशन दिएका छन् ।

‘तपाईहरूले टिकट पाउँदाको पहल सम्झिनुस् । धेरै साथीहरूले टिकट नपाउँदै गर्दा, तपाईहरूले टिकट पाउँदै गर्दा, नपाउँदा के हुन्छ र पाउँदा के हुन्छ ?’, उनले प्रश्न गर्दै भने, ‘सिङ्गो पार्टीको सहयोगले तपाईहरूले जित्नुभएको छ ।’

‘टिकट पाउनेवित्तिकै तपाईहरूले चारतारे झण्डा र चुनाव चिन्ह रुख लिएर पछाडि सिङ्गो कार्यकर्ताहरू लगाएर प्रचारमा जानुभयो’, खड्काले भने, ‘कहिँ–कहिँ चलखेल भएको भन्ने पनि सुन्नमा आएको छ । त्यो सत्य नहोस् कहिँ पनि ।’

‘पार्टीकै साथीभित्र चलखेल भएर टिकट पाउने र लिने पद्दति हो भने त्यो कुरा गलत हो’, उप–सभापति खड्काले भनेका छन् ।

यसैबीच, कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले मधेशवादी दलका नेताहरू सत्तामा जाँदा एउटा कुरा, सत्ताभन्दा बाहिर हुँदा अर्को कुरा गर्ने प्रवृत्तिलाई मधेशका जनताले बुझ्न जरुरी रहेको बताए ।

उनले भने, ‘कांग्रेसले पहिला मधेशलाई सम्झिएको छ । पहिलो राष्ट्रपति मधेशको व्यक्तिलाई बनाएको छ ।’

‘महेन्द्रनारायण निधि, शेख ईद्रिस, रामनारायण मिश्रदेखि मधेशका नेताहरूले जन्माएको पार्टी कांग्रेस हो’, खतिवडाले भने, ‘त्यो पार्टीका कार्यकर्ताहरू मधेशमा पहिलो हुँदा कांग्रेस पहिलो हुन्छ । मधेशका कार्यकर्ता दोस्रो हुँदा कांग्रेस पनि दोस्रो हुन्छ ।’

केन्द्रीय सदस्य खतिवडाले प्रतिनिधि सभा र प्रदेश सभाको आगामी निर्वाचनमा कांग्रेस पहिलो हुन्छभन्ने विश्वास लिएको बताएका छन् ।

‘नागरिकता विधेयक संशोधन गरेर मधेशको मुद्दालाई कांग्रेसले पूरा गरेको छ । संशोधन गरेका छौं’, खतिवडाले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण र उप–सभापति पूर्णबहादुर खड्कासहित सबैको पहलमा नागरिकता विधेयक पारित भएको छ ।’

उनले निर्वाचनमा कांग्रेसका साथीहरूबीच हुने तिक्तताले समस्या हुने गरेको बताए ।

‘आगामी सरकार कांग्रेसको नेतृत्वमा बनाउन तपाईहरूले घात/अन्तर्घातको कुरा छाडेर मेरोलाई होइन हाम्रोलाई छान्ने पद्धतिको विकास गरौं । मेरो होइन राम्रो, हाम्रोभन्दा राम्रो ल्याउनुपर्छ ।’

‘मधेशलाई कांग्रेसले सम्मान गरेको छ । मधेशले अब कांग्रेसलाई सम्मान गर्नुपर्छ’, खतिवडाले भने, ‘कांग्रेसले मात्रै मधेशका मुद्दालाई सम्बोधन गर्छ । अरुले सक्तदैनन् ।’

उनले भने, ‘भोटका लागि अरु आउँछन् । मधेशवादी दल र कम्युनिस्ट पार्टी एमाले कहिल्यै पनि मधेशको साथी हुन सकेन ।’
‘अफ्ठ्यारो अवस्थामा तपाईहरूले मधेश बचाउन लाग्नुभएको छ । तितामीठा कुरा बिर्सेर लाग्नुस्’, उनले भने, ‘कांग्रेसको नीति तथा कार्यक्रम लागू गर्नुपर्छ ।’

कार्यक्रममा सह–महामन्त्रीद्वय फरमुल्लाह मन्सुर र महेन्द्र यादव केन्द्रीय सदस्यहरू आनन्दप्रसाद ढुंगाना, चित्रलेखा यादव, रामहरि खतिवडा, नैनसिंह महर, मधेश प्रदेश कांग्रेसका सभापति कृष्ण यादवसहितका नेता र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 July 24, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया