कांग्रेस हराउने, कम्युनिस्ट जिताउने अन्तर्घाती ‘ग्याङ’को सातोपुत्लो उड्यो

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्तरर्घातका कारण पार्टी कमजोर भएको बताएका छन् ।

तनहुँको दमौलीमा शनिबार आयोजित कांग्रेसको कार्यक्रममा उनले संगठनका कारणभन्दा पनि अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको बताएका हुन् ।

नेता पौडेलले आफैँभित्रको अन्तर्घातले कांग्रेस खुम्चिन पुगेको बताएका छन् ।

‘पार्टीभित्र अन्तर्घातको सुरुआत धेरै अगाडिबाट भयो, आफैँभित्रको अन्तर्घातले खुम्चिन पुगेका छौँ’, उनले भने, ‘यसमा समीक्षा हुन जरुरी छ, यसमा आत्मनिरीक्षण हुन जरुरी छ ।’

कांग्रेस नेता पौडेलले भने, ‘यसमा कसैले पनि ढाकछोप गर्ने प्रवृत्तिलाई प्रोत्साहन गर्न हुँदैन, ढाकछोप गर्दै जाँदा गल्ती दोहोरिँदै जान्छ ।’

अन्तर्घातीलाई दण्डित गर्नुपर्ने पौडेलले बताए । ‘अन्तर्घाती कुनै न कुनै रूपबाट दण्डित हुनुपर्छ, पार्टीले कारबाही गरेर ननिकाले पनि त्यसलाई समाजले दण्डित गर्छ’, उनले भने ।

उनले पैसावालाहरूको बोलाबाला बढ्दै जाने र निष्ठावान कार्यकर्ता पाखा लाग्दै जाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

‘यसले लोकतन्त्र त कमजोर हुन्छ हुन्छ, राष्ट्रियता नै समाप्त हुने खतरामा बढ्दै जान्छ’, उनले भने ।

गठबन्धन आदर्श र सिद्धान्तका कारण नगरिएको बताउँदै उनले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गरिएको बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठबन्धन गरेर लोकप्रिय काम नगर्ने होभने सरकारमा बसिरहनुको पनि अर्थ नहुने बताएका छन् ।
उनले चुनावमा गठबन्धन नगरी बहुमत ल्याउने होभने लोकप्रिय काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
कांग्रेसका वरिष्ठ नेता पौडेलले अन्तर्घातीका विषयमा दिएको अभिव्यक्ति र टिप्पणीले कांग्रेसका अन्तर्घातीहरूको सातोपुत्लो उडेको छ । अन्तर्घातीका कारण कांग्रेसका उम्मेदवार पराजित हुने र एमाले–माओवादीका उम्मेदवार विजयी हुने कार्य हुँदै आएको छ ।

Published : Saturday, 2022 July 23, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया