देउवाले थाहा पाए कम्युनिस्टको रणनीति, एउटा पनि कपाल नहल्लिने

काठमाडौं । नेपाली कांग्रेसलाई दवावमा राख्न माओवादी केन्द्रले कम्युनिस्ट नेताहरूका बीच परामर्श गरेको छ ।

मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको कम्युनिस्ट नेताहरूको बैठकले कांग्रेससँगको सम्बन्धलाई नबिगारेर वाम एकतामा जाने सहमति गरेको हो । माओवादीका अध्यक्ष दाहालले जतिनै दवाव दिए पनि उनले समेत साहुहरूलाई रकम तिर्न बाँकी छ ।

कम्युनिस्ट विचारधाराका पार्टी पुनः एकताको पहलमा जुट्ने भएका हुन् । विचार मिल्ने पार्टीहरूबीच एकताको पहल गर्ने निर्णय गरेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।

विचार मिल्ने शक्तिबीच एकता गरेर कांग्रेससँगको गठबन्धन जोगाउनेबारेमा छलफल भएको छ ।

नेकपाकालीन सचिवालय ब्युँताएर एमालेसँग पनि संवाद गर्ने निर्णय पनि उनीहरूले गरेका छन् ।

बैठकमा माओवादीका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, माओवादीका नेता नारायणकाजी श्रेष्ठ र नेता बामदेव गौतम सहभागी थिए ।

कांग्रेसको केन्द्रीय समिति बैठकको निर्णयबारे समीक्षा पनि भएको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठकले आफ्नो नेतृत्वमा पाँच वर्ष स्थिर सरकार सुनिश्चित हुने स्थितिमा वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग धारणा मागेर गठबन्धनका अन्य घटकले निर्णय लिनुपर्ने निष्कर्ष बैठकको छ ।

माओवादी केन्द्र अध्यक्ष दाहालले कांग्रेससँगको गठबन्धनविरूद्ध जानेगरी छलफल नभएको बताएका छन् ।

‘कांग्रेससँगको गठबन्धनका विरूद्ध हामी जाँदैनौं’, दाहालले भने, ‘हाम्रो छलफल गठबन्धनका विरूद्धमा होइन ।’

नेताहरूले विशिष्ट राजनीतिक परिस्थितिमा कांग्रेससँग गठबन्धन निर्माण भएको भन्दै त्यसलाई तत्कालै तोड्न नहुने धारणा राखेका छन् ।

विचार मिल्ने शक्तिहरूबीच एकता सम्भव भए सार्थक बनाउनुपर्ने धारणा उनीहरूको थियो ।

‘कम्युनिस्ट शक्ति बलियो हुने र सत्ता गठबन्धनलाई पनि कायमै राख्ने विषयमा कुरानी भयो’, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले भने, ‘विचार मिल्ने शक्तिबीच एकता गरेर चुनावमा जाने कुरा भएको छ ।’

अध्यक्ष नेपालले बढीभन्दा बढी सिट जित्नेगरी कांग्रेससँग छलफल गरिने बताएका छन् ।

‘संसदीय चुनावमा बढीभन्दा बढी सिट जित्नुप¥यो नि ! त्यो जीतको सुनिश्चितता खोज्नेगरी अघि बढ्ने कुरा भएको छ’, उनले भनेका छन् ।

एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले विचार मिल्ने शक्तिबीच एकता गर्ने विषयमा छलफल केन्द्रित रहेको बताएका छन् ।

आवश्यक परे नेकपाकालीन सचिवालय ब्युँताएर भए पनि वार्ता–संवाद अघि बढाउने चर्चा बैठकमा भएको उनले बताएका छन् ।

‘नेकपाकालीन सचिवालय ब्युँताएर वाम एकताको पहल गर्ने विषयमा पनि चर्चा भएको छ। तत्कालै एमालेसँग संवाद भएको छैन’, खनालले भने, ‘एमाले तयार भए संवाद गर्न सकिन्छ ।’

राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेकपाकालीन सचिवालय ब्युँताएर पार्टी एकताको पहल गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो भारत भ्रमणबारे अन्य नेतालाई ब्रिफिङपनि गरेका थिए ।

Published : Tuesday, 2022 July 19, 10:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया