कांग्रेसकै सानो समूहले सरकारको विरोध गरिरहेका बेला प्रवक्ता डा.महतद्वारा बचाउ

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले सरकारको एक वर्ष सन्तोषजनक रहेका बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा पत्रकारहरूसँग कुरा गर्दै डा.महतले कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार आएपछि मुलुकमा धेरै सुधार भएको बताए ।

उनले कोभिड व्यवस्थापन, भ्रष्टाचार नियन्त्रणमा सरकारले राम्रो काम गरेको बताएका छन् ।

उनले वैदेशिक नीतिको अन्योल हटाउन सरकार सफल भएको दाबी गरेका छन् ।

तेलको मूल्यवृद्धि नियन्त्रण सरकारको हातमा नरहेको बताएका डा.महतले सरकारको काममा असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताए ।

एमसिसीको विषयमा सरकारले स्पष्ट र सन्तुलित कदम चालेको तथा वैदेशिक सम्बन्ध सन्तुलित राखेको भन्दै उनले भने, ‘चुनौती छन् । सामना नै गर्न नसक्ने अवस्था छैन ।’

‘हामीसँग विदेशी मुद्रा यथेष्ट छ । नेपाल श्रीलंकाको अवस्थामा जाने कुनै सम्भावना छैन’, उनले भनेका छन् ।

डा.महतले कांग्रेसको नेतृत्वमा ५ दलीय गठबन्धनको सरकार बनेपछि भ्रष्टाचार रोकिएको बताएका छन् ।

‘यो गठबन्धनको सरकार हो जनताका सबै खाले अपेक्षाहरू पूरा नहुन सक्छन्’, उनले भने, ‘तैपनि सरकारका काम र उपलब्धि सन्तोषजनक छन् ।’

प्रवक्ता डा.महतले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एमसीसीमा रहेको अन्योलता हटाउने काम गरेको बताएका छन् ।

Published : Tuesday, 2022 July 12, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया