विधानमा नरहेको रामचन्द्रको पद फुस्किने सम्भावना, स्वघोषित पद ओगटेका शेखर चकित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्रको नयाँ मर्यादाक्रम निर्धारण गर्नेगरी मस्यौदा प्रस्ताव गरेको छ ।

एकदेखि पाँँचौँ मर्यादाक्रमसम्म क्रमशः केन्द्रीय सभापति, पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । यो पदका लागि सभापति शेरबहादुर देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् ।

१२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२०औँमा क्रियाशील सदस्य र १२१औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ ।

वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सह–महामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए ।

जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति बैठकमा सह–महामन्त्री बद्री पाण्डेले मर्यादाक्रमको मस्यौदा छलफलका लागि प्रस्तुत गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिएका छन् ।

मस्यौदाअनुसार कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रुपमा दोस्रो वरियतामा राखिएको छ ।

मर्यादाक्रममा त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी हुन्छन् । यसआधारमा अब सभापति देउवापछि मर्यादाक्रममा उप–सभापतिहरू हुनेछन् ।

मस्यौदाअनुसार मर्यादाक्रम लागू भए हाल सभापतिपछि वरिष्ठ नेताका रूपमा सम्मान पाइरहेका रामचन्द्र पौडेल पदाधिकारीभन्दा तल पर्नेछन् ।

विगतमा महाधिवेशनमा सभापतिपछि सबैभन्दा धेरै मत ल्याउने नेतालाई सभापतिपछिको वरीयतामा राख्ने अभ्यास रहेको थियो ।

यसपटक सभापति देउवाले सभापतिमा पराजित नेता शेखर कोइरालालाई दोस्रो नम्बरमा राख्न अस्वीकार गरेपछि मर्यादाक्रममा शेखर समूहले विवाद उत्पन्न गरेको थियो ।

शेखर कोइरालाले आफूलाई स्वघोषित वरिष्ठ नेता बताउँदै आएका छन् । शेखरले आफ्नो फेसबुक र ट्वीटरमा वरिष्ठ नेता भनेर सामग्रीहरू पोष्ट गर्ने गरेका छन् ।

यसैबीच, नेपाली कांग्रेसका प्रदेश सभापतिहरूले पार्टीभित्र मर्यादाक्रमको विषयलाई लिएर आपत्ति जनाएका छन् ।

सात प्रदेशका सभापतिहरू छुट्टै बसेर लिखित असन्तुष्टि तयार पारी केन्द्रीय कार्यसमिति बैठकमा पेस गरेका हुन् ।

मर्यादाक्रमसम्बन्धी प्रस्ताव प्रस्तुत भएपछि प्रदेश सभापतिहरूले आफूहरूको मर्यादाक्रम घटाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले प्रदेश सभापतिहरूको मर्यादाक्रम ११ नम्बरमा पुर्‍याइएको बताएका छन् ।
केन्द्रीय सभापतिपछि आफूहरूको मर्यादाक्रम राखिनुपर्ने उनीहरूको माग छ ।

Published : Tuesday, 2022 July 12, 5:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया