शेखर ‘ग्याङ’को कांग्रेस विरोधी हर्कत, अराजक कार्यकर्ताले उत्पात मच्चाए

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला निकटका अराजक समूहले प्रदर्शन गरेको छ ।

सोमबार केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन आएका नेताहरूको गाडीलाई अबरोध गरेर शेखर समूहका नेता कार्यकर्ताले अराजकता देखाएका हुन् ।

आफूलाई नेविसंघको कार्यकर्ता बताउने बुढाखाडा नेता कार्यकर्ताले सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी र प्रदर्शन गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुरु हुनुभन्दा अगाडि शेखर समूहका सीमित कार्यकर्ताले अराजक शैलीमा प्रदर्शन गरेका हुन् । उनीहरूले अराजक र आक्रामक तरिकाले प्रदर्शन गरेका थिए ।

उनीहरूले पार्टीलाई विधिसम्मत चलाउनुपर्ने र भ्रातृसंस्थाहरूलाई विधानसम्मत पदाधिकारीसहित तत्काल पूर्णता दिनुपर्ने माग राख्दै प्रदर्शन गरिएको नेविसंघकी नेत्री प्रेमिका राना मगरले बताएक छिन् ।

शेखर समूहले काठमाडौंमा पटक–पटक गरेको गुटको बैठक र भेलाबाट सभापति शेरबहादुर देउवाविरुद्ध हर्कत गर्ने निर्णय गरेको थियो । शेखर समूहको उक्साहटमा अराजक कार्यकर्ताले हातपात गर्ने शैलीमा प्रदर्शन गरेको जनाइएको छ ।

प्रदर्शनमा उत्रिएका शेखर समूहका कार्यकर्ताले नेताहरूको गाडीलाई रोक्नेदेखि कुटटपिट गर्ने जस्तो गरेर उत्रिएका थिए ।

सुरक्षाकर्मीले सतर्कतापूर्वक क्लियर नगरेको भए शेखर ग्याङले अप्रिय घटना गराउन सक्ने चर्चा सानेपामा चलेको थियो ।

सभापति देउवाविरुद्ध नेता शेखर कोइरालाले उचालेर अराजक शैलीमा प्रदर्शन गराएको आरोप छ ।

Published : Tuesday, 2022 July 12, 12:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया