एसएसपी बढुवा सिफारिसमा परेका पनि खुसी, नपरेका पनि खुसी, खाणका कारण बच्यो चेन अफ कमाण्ड

काठमाडौं । गृह मन्त्रालयले असार २५ गते साँझ ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गर्‍यो ।

वरिष्ठता र कार्यसम्पादनका आधारमा गृहसचिव टेकनारायण पाण्डे नेतृत्वको प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह सदस्य र प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह सदस्य सचिव रहेको बढुवा समितिले ३२ जनालाई एसएसपी बढुवा गर्न सिफारिस गरेको हो ।

पहिलो लटका बढुवा हुन छुटेका डिल्लीराज बिष्ट र अन्य ३१ जना एउटै लटका अधिकृतहरू एसएसपीमा बढुवा सिफारिस भएका हुन् । एकैलटका ३३ जनामध्य दुई जनाको अनुशासन र विभागीय कारबाही भएकाले बढुवा सिफारिस नगरिएको हो । एउटै लटका विमल बस्नेत र रामेश्वरप्रसाद यादवको विभागीय र अनुशासनको कारबाहीमा परेकाले बढुवा सिफारिसमा नपरेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाणले ठूलो दवाव थेगेर वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा गरेर प्रहरीमा रहेको चेन अफ कमाण्डलाई बचाउन सफल छन् ।

वि.सं. २०५६ को पछिल्लो ब्याचबाट बढुवा लिष्टमा पर्न राजनीतिक नेतृत्वबाट ठूलो दवाव बढाइएको थियो । त्यो दवावलाई थेगेर गृहमन्त्री खाणले चेन अफ कमाण्डलाई बचाउँदै अघिल्लो ब्याचकाहरूलाई बढुवा सिफारिस गर्न निर्देशन दिएका थिए । त्यही अनुरुप बढुवा सिफारिस भएको छ ।

‘चेन अफ कमाण्ड बचाएर गरिएको बढुवा सिफारिसले संगठनमा राम्रो सन्देश गएको छ । काम गरेमा सोर्स फोर्स नभए पनि कामको मूल्यांकन हुन्छ भन्ने सन्देश गएको छ’, एक प्रहरी अधिकृतले भनेका छन् ।

वरिष्ठता र कार्यसम्पादनका आधारमा बढुवा सिफारिस भएपछि बढुवा सिफारिस हुनेहरू त सन्तुष्ट भएका छन् नै सिफारिस नुहनेहरू पछिल्लो लटका पनि आफ्नो लटका कुनै पनि नपरेपछि असन्तुष्ट छैनन् ।

दुई/चार जनालाई टपक्कै टिपेर बढुवा सिफारिस गरिने हो कि, आफूहरू नपरिने हो कि भन्ने चिन्तामा रहेका २०५६ को ब्याचका एसपीहरू कोही पनि नपरेपछि खुसी नै छन् ।

संगैका साथीहरू कोही सिनियर र कोही जुनियर नहुने भएपछि उनीहरू खुसी रहेको बढुवाको प्रयास गरेका एक एसपीले सुनाएका छन् ।

एसएसपी बढुवा सिफारिसमा जातीय कलस्टर पनि मिलाइएको छ । एसएसपी बढुवामा दलित समुदायबाट डम्मरबहादुर बिश्वकर्मा परेका छन् । मधेशी समुदायबाट उमाप्रसाद चतुरबेदी, मनोजकुमार यादव, संजीव शर्मा दास र शारदाप्रसाद चौधरी बढुवा भएका छन् । जनजातीलाई पनि बढुवामा उपयुक्त स्थान दिइएको छ ।

एसएसपीमा बढुवा सिफारिसमा परेका बिश्वकर्माले सरकारले चेन अफ कमाण्ड नभत्कनेगरी सबैलाई न्याय गरेर बढुवा सिफारिस भएको बताएका छन् ।

Published : Sunday, 2022 July 10, 9:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया