पुन गुटको बैठक र भेलातिर हिँडेपछि लुम्बिनी कांग्रेसको बेहाल, समीक्षानै नगरेर प्रतिवेदन तयार

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुन गुटको बैठक र भेलाहरूमा सक्रिय भएपछि स्थानीय तहको निर्वाचनसम्बन्धी समीक्षा र प्रतिवेदन अलपत्र परेको छ ।

सभापति पुनले केन्द्रीय कार्यसमितिमा पेश गर्ने प्रतिवेदनका विषयमा लुम्बिनी कांग्रेसको बैठक बोलाएर छलफल पनि गराएका छैनन् । औपचारिक रुपमा बैठक बोलाएको जानकारी पनि नरहेको एक जना पदाधिकारीले बताएका छन् ।

सभापति पुनले निरंकुश शैलीबाट पार्टी सञ्चालन गर्न खोजेको भनेर बेलाबेला नेताहरूको असन्तुष्टि सुनिने गरेको छ ।

सभापति पुन नेता शेखर कोइराला निकट मानिन्छन् । सभापति पुनले आफू एक्लैले लुम्बिनीका स्थानीय तहमा जिताएको जस्तै गरेर जस लिने गरेर आफू निकटका नेताहरूसँग कुरा गर्ने गरेको नेताहरूको भनाइ छ ।

बागमती कांग्रेसले कार्यसमिति बोलाएर स्थानीय तहको निर्वाचनको समीक्षा र केन्द्रीय कार्यसमितिमा बुझाउने प्रतिवेदनका विषयमा छलफल गरेको थियो । कार्यसमितिबाट प्राप्त सुझावहरूलाई सभापति ईन्द्रबहादुर बानियाँले प्रतिवेदनमा राख्नेछन् ।

अरु प्रदेशका सभापतिहरूले पनि स्थानीय तहको निर्वाचनको समीक्षा र प्रतिवेदनका विषयमा आ–आफ्नो ढुंगले छलफल गरेका छन् । सुझावहरू पनि लिएका छन् ।

तर, लुम्बिनी कांग्रेसका सभापति पुनले कार्यसमिति र पदाधिकारीहरूलाई बेवास्ता गरेर स्थानीय तहको निर्वाचनसम्बन्धी प्रतिवेदन तयार पारेको स्रोतले जनाएको छ । पुनले तयार पारेको प्रतिवेदनका विषयमा लुम्बिनी कांग्रेसका नेताहरूले चासो राखेका छन् ।

लुम्बिनी कांग्रेसभित्र सभापति पुनका कारण विष्फोट हुने अवस्था भइरहेको छ । आफ्नै गुट सम्हाल्न सभापति पुनलाई हम्मेहम्मे भएको छ ।

लुम्बिनी कांग्रेसभित्र आफ्नै गुटभित्र विवादको स्वरहरू सुनिएपछि नेता शेखर कोइरालाले अघिल्लो पटक बोलाएको गुटको बैठकमा सभापति पुनलाई सो विषयमा र्‍याखर्‍याख पारेको स्रोतको भनाइ छ ।

सभापति पुनलाई सम्झाइदिन नेता शेखर कोइरालासँग लुम्बिनी कांग्रेसका केही नेताहरूले आग्रह पनि गरेको एक नेताले बताएका छन् ।

लुम्बिनी कांग्रेसको कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूह कमजोर छ । देउवा समूह कमजोर भएको मौका छोपेर सभापति पुनले एकलौटी रुपमा पेलेर जाने प्रयासहरू गरिरहेको आरोप छ ।

Published : Sunday, 2022 July 10, 6:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया