शेखर समूहले देउवा र सरकारविरुद्ध हर्कत गर्ने, गगन–धनराजहरू बैठकमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले प्रधानमन्त्री शेरबहादुर देउवा र गठबन्धनको सरकारविरुद्ध कडा रुपमा प्रस्तुत हुने निष्कर्ष निकालेको छ ।

आइतबार काठमाडौंको विशाल नगरमा बसेको शेखर समूहको भेलामा सरकारको कामकारबाहीमा गम्भीर ढंगले समीक्षा गरिनुपर्ने निष्कर्ष निकालेको नेता चन्द्र भण्डारीले बताएका छन् ।

शेखर निकटका पदाधिकारी र केन्द्रीय सदस्यहरूको भेलाले सरकारका कामकारबाहीबारे केन्द्रीय समितिले समीक्षा गर्नुपर्ने निष्कर्ष निकालेपछि सरकारलाई झट्का लागेको छ ।

आफ्नै पार्टीका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धनको सरकार रहेका बेला शेखर समूहले लफडा निकाल्न लागेको छ ।

सरकारमाथि भ्रष्टाचारजस्ता विभिन्न आरोप लागेकोले त्यसबारे गम्भीर ढंगले छलफल गरिनुपर्ने शेखर समूहले निष्कर्ष निकालेको छ ।

नेता भण्डारीले पार्टी नेतृत्वको सरकारमाथि भ्रष्टाचारको आरोप लागेकाले त्यसबारे केन्द्रीय समितिमा छलफल हुनुपर्ने बताए ।
शेखर समूहले सरकारले ल्याएको बजेटमा पनि असन्तुष्टि जनाएको छ ।

सभापति देउवाले विधानअनुसार पार्टी सञ्चालन गर्न नसकेको पनि शेखर समूहको भनाइ छ ।

सभापति देउवाले छ महिनाभित्र गर्नुपर्ने काम गर्न नसकेको भण्डारीले बताएका छन् ।

नेता भण्डारीले संघीय संसदको निर्वाचनमा पार्टीलाई अझ फाइदा हुने गरी गठबन्धनलाई वृहत्त बनाउने विषयमा पनि छलफल गरिनुपर्ने बताएका छन् ।

शेखर समूहले पार्टीको भ्रातृ संस्थादेखि विभागसम्मको गठनका कामलाई अगाडि बढाउन माग गरेको छ ।

पार्टीको भ्रातृ संस्थाहरू सबैको पुनर्गठन गर्न र विभागलाई समयमै पूर्णता दिन पनि देउवालाई दबाब दिने निर्णय शेखर समूहले गरेको छ ।

शेखर समूहको भेलामा धनराज गुरुङ, गगन थापा, डा.रामशरण महतलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2022 July 10, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया