इमान्दारिताको कुरा गर्ने अग्निको ३४८ बिघा सरकारी जग्गा काण्ड, स्थानीय तहमा बढारिएपछि बरबराउन थाले
काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा बढारिएपछि माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले रुन्चे स्वरमा मतदाता र उम्मेदवारहरूलाई नानाभाँती आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एउटा कार्यक्रममा सापकोटाले निर्वाचनमा पैसाको खोलो बग्ने गरेको आरोप लगाए । पैसाको खोलो बगाउने उम्मेदवार रहेको र ती उम्मेदवारको पैसा मतदाताले खाएर जिताउने गरेको घुमाउरो भाषामा आरोप लगाएर सापकोटाले मतदाताहरूको अपमान गरेका हुन् ।
सापकोटाको पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डक’की छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा पैसा खोलो बगाएर जिताएको कुरा भुलेका रहेछन् ।
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नं. १ मा सापकोटाले गएको प्रतिनिधि सभा निर्वाचनमा जितेका थिए । साढे ४ वर्षको समयमा सापकोटाले सिन्को पनि भाँच्न नसकेको मतदाताहरूको आरोप छ ।
सापकोटाले काम नगरेपछि उनका मतदाता र पार्टीकै नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा धमाधम प्रवेश गरिरहेका छन् । आफ्नै पार्टीका कार्यकर्ता र मतदाताले कुकुरले हड्डी छाडेजसरी चत्रक्कै छाडेर हिँडेपछि सापकोटा तनावमा परेका छन् । सापकोटाको निवार्चन क्षेत्रमा ५४ वटा वडा छन् । त्यसमा सापकोटाको पार्टी माओवादीले जम्मा ५ वडा मात्रै जितेको छ । अरु सबै वडामा नराम्रोसँग पराजित भएको छ ।
जिल्ला समन्वय समितिमा पनि माओवादी केन्द्र बढारिएको छ । जिससमा माओवादीले १ सिट पनि जितेको छैन । आफ्नै क्षेत्र र आफ्नै वडामा समेत गुमाएपछि सापकोटा बरबराउन थालेको आरोप सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताहरूको भनाइ छ ।
सापकोटाले अबको प्रतिनिधि सभा निर्वाचनमा चुनाव लड्न आँट गरेका छैनन् । सापकोटा यस पटक हार्ने डरले समानुपातिकमा बस्ने तयारी गरेको सिन्धुपाल्चोक माओवादीका कार्यकर्ताहरूको भनाइ छ ।
यसअघि, शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सापकोटाले भनेका थिए, ‘यती धेरै पैसाको खोलो बग्छ चुनावको बेलामा त्यो भनिसाध्य छैन । असल इमान्दार कार्यकर्ताले लड्नका लागि गाह्रो हुने ।’
‘अहिले के संकेत देखा परेको छभने राम्रोसँग हामीले अभियान छेड्न सक्यौँ भने राम्रोसँग जनतामा गएर विकृति र विसंगतीका विरुद्ध अभियान चलाउन सक्यौँ भने धेरै पैसा खर्च नगरिकन पनि जित्ने पनि छन् । धरानकै उदाहरण लिन सकिन्छ । काठमाडौंकै उदाहरण लिन सकिन्छ ।’
हुन त सापकोटाले इमान्दारिताको कुरा गरेका छन् । व्यक्ति हत्याको अभियोगमा सर्वोच्च अदालतमा मुद्दा खेपीरहेका सापकोटा बन मन्त्री बनेका बेला सरकारी जमीन हिनामिना काण्डमा समेत मुछिएका छन् ।
सापकोटाले ३४८ बिघा सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोप लागेको छ । बन मन्त्री भएको बेला उनले सरकारी जग्गा व्यक्तिको नाममा पारेको आरोप सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले लगाएको हो ।
सरकारी, सार्वजनिक एवं गुठी जग्गा संरक्षण समितिले सरकारी जग्गा संरक्षण गर्न समेत माग गरेको थियो । तत्कालीन समयमा समितिले शान्ति वाटिकामा एक कार्यक्रमको आयोजना गरी सरकारले सरकारी, सार्वजनिक एवं गुठी जग्गा आफू मातहत ल्याएर संरक्षण गर्न माग गरेको थियो ।
समितिका महासचिव युवराज कोइरालाले सरकारको नाममा रहेको जग्गा जमीन सरकारले आफ्नै मातहतमा ल्याएर भोगचलन गर्नुपर्ने माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरिएको जानकारी दिए । समितिले २३ गतेदेखि हस्ताक्षर अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।
समितिले ललिता निवास बालुवाटारको सरकारी जग्गा नेपाल सरकारको नाममा कायम गर्न, सुनसरी, धरानस्थित सर्दु जलाधारको ३४८ बिघा जग्गा नेपाल सरकारको नाममा कायम गरी सो जग्गा अपचलन गर्ने उपर कारवाही गर्न दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको जनाएको थियो ।
उनले धरानको ३४८ बिघा जग्गा व्यक्तिको नाममा पारेको भन्दै सभामुख सापकोटामाथि मुद्दा चलाउन माग गरेका थिए । उनका अनुसार सभामुख सापकोटाले बन मन्त्री भएका बेला सरकारी जग्गा व्यक्तिको नाममा गराएका थिए ।
‘तत्कालीन सचिवले सर्दु जलाधार क्षेत्रको जग्गा सरकारको नाममा दाखा गर्नुपर्छ भनेर राय दिएका थिए । मन्त्री सापकोटाले व्यक्तिको नाममा गर्नू भनेर तोक लगाए । आज ती व्यक्तिले दुईतिरको जग्गा भोगचलन गरिरहेका छन् । उच्चस्तरीय समितिले सो निर्णय भ्रष्टाचार हो भनेर मुद्दा चलाउन सिफारिस गरेपनि अख्तियारले खुट्टा कमाइरहेको छ’, उनले भनेका थिए ।
धोवीखोला बगेको साविक नगर २५ (क) कित्ता नं ५०५ को जग्गामा मोही लाग्ने गरी मन्त्रिपरिषदबाट निर्णय गर्ने प्रधानमन्त्री उपर कारवाही गरी सो जग्गा सरकारको नाममा दर्ता गर्न, मालपोत कार्यालयले राजकुलो र बाटोमा मोही कायम गर्ने गरेको निर्णयलाई सदर गर्ने न्यायाधीशलाई कारवाहीको लागि दबाब दिन हस्ताक्षर अभियान सञ्चालन गरिएको महासचिव कोइरालाले बताएका थिए ।
समितिले हस्ताक्षर सम्बन्धित मन्त्रालय तथा निकायमा पु¥याउने बताएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया