चीनसँग कुरा हुनेवित्तिकै ५ ठूला कम्युनिस्ट नेताहरूको गोप्य र आकस्मिक बैठक

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग वार्ता गर्नेवित्तिकै कम्युनिस्ट एकताका विषयमा छलफल चलाएका छन् ।

आइतबार राजधानीमा माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, झलनाथ खनाल, नेकपा (राष्ट्रिय एकता अभियान)का संयोजक वामदेव गौतम र नारायणकाजी श्रेष्ठवीच गोप्य वार्ता भएको हो । वार्तामा एमालेसहितका कम्युनिस्टहरूको एकता र वाम गठबन्धनका विषयमा छलफल भएको बुझिएको छ ।

दाहालले असार ९ गते नवनियुक्त चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय सम्पर्क विभागका मन्त्री लिउ जियान्चाओसँग भर्चुअल बैठक सम्पन्न गरेका थिए । लिउले दाहाललाई नेपालका कम्युनिस्टहरू मिलेर जान सुझाव दिएका थिए ।

५ जना कम्युनिस्ट नेताहरूका वीच वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको गठबन्धनलगायतका विषयमा छलफल भएको छ ।

नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ । यी नेताहरूले कम्युनिष्ट एकताका लागि अपील गर्ने जनाइएका छन् ।

तत्कालीन नेकपा सर्वोच्च आदेशसँगै अस्तित्वविहीन भएर पुरानै पार्टीहरू क्रियाशील भएका थिए । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई जन्माइदिएको थियो ।

नेकपा राष्ट्रिय अभियान बनाएर गौतमले नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । उनले एमालेका अध्यक्ष खड्गप्रसाद ओली, माओवादी केन्द्रका अध्यक्ष दाहलसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकारका विषयमा विभिन्न अफवाह र प्रचारवाजी भइरहेका बेला दाहाल र नेपालसहितका कम्युनिस्ट नेताको वार्ता भएको छ ।

Published : Sunday, 2022 July 3, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया