ओलीलाई खुसी बनाउन आफ्नै सरकार ढाल्ने ‘शेखर ग्याङ’को रणनीति, ४१ प्रतिशत भाग माग्यो

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी ४१ प्रतिशतको भाग खोजेको छ ।

काठमाडौंमा शुक्रबार बसेको शेखर समूहको भेलाले १४औँ महाधिवेशनमा गरेको प्रतिवद्धता विपरित ४१ प्रतिशत भाग खोज्ने निर्णय गरेको हो । शेखर समूहले महाधिवेशनमा भागबण्डाको राजनीति अन्त्य गर्न आफूहरुको उम्मेदवारी रहेको जनाएको थियो । अहिले आएर शेखर समूह भागबण्डा खोजेर गुटको बैठक गर्दै आएको छ ।

शेखर समूहले कांग्रेसका देशभरिका कार्यकर्ताको आस्थामाथि ठेस पु¥याएको छ । शेखर समूहमा रहेका महामन्त्री गगनकुमार थापाले समेत भागबण्डाको राजनीति अन्त्य गर्न आफ्नो उम्मेदवारी रहेको बताएका थिए । त्यसपछि गगनलाई अत्याधिक मतसहित महाधिवेशन प्रतिनिधिहरुले जिताएका थिए । गगनै शेखरको पछि लागेर ४१ प्रतिशत भाग खोजेपछि कांग्रेसभित्र हलचल मच्चिएको छ ।

शेखर समूहले सभापति शेरबहादुर देउवा आफूलाई मत नदिनेहरुको नेता बन्न नसकेको आरो पनि लगाएको छ ।

शेखर समूहको बैठकले पार्टीलाई विधिसम्मत चलाउने सभापतिलाई दबाव दिने र महाधिवेशनमा पाएको मतअनुसार पार्टीमा हिस्सेदारी खोज्ने निष्कर्ष समेत निकालेको छ ।

शेखर कोइराला सभापतिमा पराजित भएका थिए । शेखरलाई सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् ।

देउवाको मनोनीत केन्द्रीय सदस्य शेखरले देउवाविरुद्ध नै गुटको बैठक राखेर उत्पात मच्चाएका छन् ।

शेखर समूहबाट धनराज गुरुङ उपसभापति, गगनकुमार थापा महामन्त्री, जीवन परियार र बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका थिए ।

केन्द्रीय कार्यसमिति र भ्रातृ संस्थाहरुमा भएको मनोनयन, कार्यसम्पादन समिति गठन, स्थानीय तह निर्वाचनको टिकट वितरण, संसदीय समिति गठन लगायतमा सभापति देउवाले एकलौटी गरेको आरोप शेखर समूहको छ ।

४१ प्रतिशत भाग पाउनका लागि शेखर समूहले देउवालाई दवाव दिन सातै प्रदेशमा भेला गर्नुका साथै नेताको जिल्ला भ्रमणलाई बढाएर दबाव सृजना गर्ने निर्णय गरेको छ ।

शेखर समूहले रचनात्मक विद्रोहका नाममा पार्टीभित्र अराजकता निम्ताउने निर्णय पनि गरेको छ ।

महामन्त्री थापाले विधानले दिएको अधिकारभित्र रहेर पार्टीलाई संस्थागत चलाउन हरदम प्रयास गरिएको बताएका छन् ।

पार्टी हितका लागि आफूहरुले जोखिम मोलेर समेत सभापतिका लागि काँध थापेको थापाले बैठकमा बताएका छन् ।

सरकारले जनतालाई राहत दिन नसकेको, आर्थिक सुशासनको खिल्ली उडाइएको र व्यापक नीतिगत भ्रष्टाचार गरेको आरोप शेखर समूहले लगाएको छ ।

शेखर समूहको निर्णय र निष्कर्षले आफ्नै पार्टी नेतृत्वको सरकार ढाल्नका लागि शुरुवात गरेको भनेर चर्चा भएको छ । शेखर समूहले देउवा सरकार ढालेर कांग्रेसलाई कमजोर बनाउन ४१ प्रतिशत भाग र सरकारको बचाउ गर्नुको साटो आलोचना गरेर धज्जी उडाउने कार्य भएको छ ।

प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बेला कांग्रेसभित्र मेलमिलाप र सहमतिको नीति लिएर जाने बेला शेखर समूहले कांग्रेस नेतृत्वको सरकार ढाल्ने गरेर हर्कत गरेपछि चिन्ता बढाएको छ ।

शेखर समूहको हर्कतबाट एमालेका अध्यक्ष खड्गप्रसाद ओली खुसी छन् । शेखर समूहले भाग खोजेर सरकारविरुद्धको हर्कत गर्नु भनेको ओली खुसी हुनु हो ।

Published : Saturday, 2022 July 2, 1:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया