सामाजिक सुरक्षा विधेयकलाई एमालेले समितिमै रोक्यो, रावलले बखेडा झिके

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले सामाजिक सुरक्षासम्बन्धी विधेयकलाई अड्काइदिएको छ ।

संसद सचिवालयमा बुधबार बसेको संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एमालेका सांसद झपटबहादुर रावलले विधेयकलाई पास हुन दिएनन् । उनले विज्ञ राखेर छलफल गर्नुपर्नेभन्दै अड्को थापेर बखेडा झिकेका हुन् ।

गृहमन्त्री बालकृष्ण खाण, गृहमन्त्रालयका सचिव र सह–सचिव एवम् अन्य दलका सांसदहरूले विधेयकलाई पारित गरेर जान सुझाव दिएका थिए ।

तर, अनावश्यक बखेडा झिकेका एमालेका सांसद रावलले विधेयकलाई अगाडि बढ्न दिएनन् । बाध्य भएर समितिका सभापतिले दुई दिन पछाडि शुक्रबारसम्मका लागि विधेयकमाथिको छलफललाई सारेका छन् ।

एमालेका सांसद रावलले सभामुख स्वदेशमा नरहेको र धान दिवस रहेको बहाना बनाएर विधेयक समितिबाट पास हुन दिएनन् ।

समितिकी सदस्य एवम् माओवादीकी सांसद रेखा शर्माले सामाजिक सुरक्षा भत्तालाई उमेर हदभन्दा पनि अवस्था हद राख्नुपर्ने बताइन् । ‘जसको अवस्था राम्रो हुन्छ त्यसलाई भत्ता दिनु पर्छ भन्ने पनि छैन’, उनले भनिन्, ‘६० वर्ष पुगेको व्यक्तिको खराब अवस्था छ भन्ने पनि छैन । राम्रो हुन्छ भन्ने पनि छैन र नराम्रो हुन्छ भन्ने पनि छैन ।’

सांसद शर्माले आर्थिक अवस्थालाई हेरेर अनावश्यक रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न नहुने बताइन् ।


माओवादीका सांसद शक्तिबहादुर बस्नेतले सुस्तमनस्थितिको अपाङ्गताका बारेमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले अविवाहितको व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता र एकल व्यक्तिलाई मान्ने कि नमान्ने भन्ने विषयमा प्रश्न उठाएका थिए । उनले ६० वर्षभन्दा माथिको व्यक्तिले भत्ता पाउने र ६० वर्षमुनिको व्यक्तिले एकलभत्ता पाउनेबारे प्राविधिक समस्या हुने बताए । उनले भने, ‘सम्पन्न जेष्ठ नागरिकलाई भत्ता किन दिने ? सम्पन्नलाई भत्ता दिनु हुँदैन ।’

गृहमन्त्री खाणले सामाजिक सुरक्षा नियम संशोधन गर्न बनेको विधेयकमा आएका सुझाव र जिज्ञासाप्रति सांसदहरूलाई धन्यावाद दिए । उनले विधेयकलाई सबै मिलेर पारित गर्नुपर्ने नै रहेको बताए । उनले विधेयक पारित गर्ने विषयमा सबैको सहमति आवश्यक रहेको बताउँदै सबैको सुझावमा अगाडि बढ्ने उल्लेख गरे ।

नोपली कांग्रेसका प्रमुख सचेतक समेत रहेका खाणले राज्य व्यवस्था समितिको सभापति चयनका विषयमा पनि छिटो टुंगो लाग्ने बताएका छन् । त्यसका लागि आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

विधेयकलाई पारित गर्न एमालेबाहेकका दलका सांसद सदस्यहरूले आग्रह गरेका थिए । तर, एमालेका सांसद रावलले अटेर गरेर विधेयक पास हुन दिएनन् ।

Published : Thursday, 2022 June 30, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया