अर्बपति विनोद चौधरी, प्रचण्डकी बुहारी विना पनि सबैभन्दा अगाडि

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमालेका अध्यक्ष खड्गप्रसाद ओली सबैभन्दा धेरै गयल देखिएका छन् ।

प्रधानमन्त्री देउवा राज्य सञ्चालनको दैनिक कार्यक्रम भएका कारण संसदमा अनुपस्थित हुनु स्वभाविक छ । तर, प्रमुख प्रतिपक्ष दल एमालेका नेता एवम् अध्यक्ष ओली अत्याधिक गयल हुनुभनेको चिन्ताको विषय हो । प्रमुख प्रतिपक्ष दलले सरकारलाई संसदबाट मार्गदर्शन गर्नुपर्छ । ओली नै सबैभन्दा धेरै गयल भएपछि सरकारलाई कसरी रचनात्मक सल्लाह दिए होलान् ? प्रश्न उठेको छ ।

प्रतिनिधि सभाको बैठक २९७ दिन चलेको छ । बैठकमा देउवा र ओली बराबरी २१९ बदन गयल भएको तथ्याङ्क संसद सचिवालयले दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ १९३ दिन गयल देखिएका छन् ।

सांसदहरू सूर्यनारायण यादव २०४, अभिषेकप्रताप शाह २०२, गोकर्ण विष्ट १९६, विना मगर, १९२, शिवकुमार मण्डल १९१, मोहम्मद इश्तीयाक राई १९१ दिन, किशोरसिंह राठौर १९१, नागेन्द्रकुमार १८६, विनोद चौधरी १७०, गोकुल बास्कोटा १५४, शरतसिंह भण्डारी १५०, प्रमोद साह १५०, शक्तिबहादुर बस्नेत १४९, छविलाल विश्वकर्मा १४९ दिन गयल देखिएका छन् ।

कांग्रेसका सांसद प्रदीप गिरी १५४ दिन गयल देखिएका छन् । यद्यपि, सांसद गिरी बिरामी भएर भारतमा उपचार गराउन गएका कारण अनुपस्थित भएका हुन् । गिरी निकै अनुशासित सांसद र नेतामा पर्छन् ।

नियमावलीअनुसार कुनै पनि सांसद दश दिन लगातार अनुपस्थित भएमा सांसद पद जाने व्यवस्था छ । गयल भएकै कारण कुनै पनि सांसदको पद गएको छैन ।

सांसदको पारिश्रमिक ५५ हजार २ सय ३० रुपियाँ रहेको छ । उनीहरूले विशेष भत्ता १ हजार, सञ्चार सुविधा ३ हजार, कोठा भाष १८ हजार, अतिथि स्वागत १ हजार, फर्निचर खर्च १५ हजार, बिजुलीपानी २ हजार, प्रतिदिन बैठक भत्ता १ हजार यातायात भत्ता १ हजार, भ्रमण भत्ता २५ सय बुझ्ने गर्छन् ।

२५७ जना सांसदको खर्च १ अर्ब ६५ करोडभन्दा धेरै छ । दुई वर्षमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदले ७१ करोड ३४ लाख २९ हजारभन्दा धेरै रकम लगेका छन् ।

सांसदहरू तलब, भत्ता बुझ्नका लागि मात्रै हुन् वा जनताको सेवा गर्न राज्य सञ्चारलनमा सहयोग गर्न आएका हुन् प्रश्न उठेको छ ।

विनोद चौधरी जस्ता धनाढ्य पनि समानुपातिक सांसद बनेर तलब, भत्ता बुझेर मोज गरेका छन् । सांसद चौधरी संसदको बैठकमा नगएर आफ्नै कमाउधन्दामा लाग्ने गरेका छन् । चौधरीको यो हर्कत गाउँबाट राजनीतिक संघर्ष गरेर आएका कार्यकर्ताको भोग खोस्नेभन्दा अर्को धन्धा भएको छैन । पैसा र पहुँचका आधारमा मधेशी कोटाको आरक्षण पनि चौधरीले कब्जा गर्ने गरेका छन् ।

प्रचण्डकी बुहारी पनि गयल हुने सांसदको सूचीमा अगाडि नै छिन् ।

Published : Wednesday, 2022 June 29, 10:56 am

फेसबुकबाट तपाईको प्रतिक्रिया