कांग्रेसबाट जितेका जनप्रतिनिधिहरूलाई जनताको सेवा गर्न गगनको निर्देशन

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले राम्रा काम गर्नुपर्ने बताएका छन् ।

कांग्रेसले तनहुँमा आइतबार गरेको कार्यक्रममा महामन्त्री थापाले जनमुखी काम गरेर जनताको विश्वास जित्दै परिणाम दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘जनप्रतिनिधिमाथि पाँच वर्ष धेरै ठूलो जिम्मेवारी आएको छ, केही काम गर्नुपर्नेछ, परिणाम दिनुपर्नेछ ।’

‘त्यसमा जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ’, महामन्त्री थापाले भनेका छन् ।

उनले स्थानीय तहले नागरिकको स्वतन्त्रतालाई विचार गर्नुपर्ने बताएका छन् ।

शासनमा जवाफदेहिता र पारदर्शीता कायम गर्नुपर्ने पनि उनले बताएका छन् ।

सेवा प्रवाहमा सिर्जनशीलता हुनुपर्ने भन्दै महामन्त्री थापाले सेवा प्रवाहलाई सहज र सरल बनाउनुपर्ने बताए ।

‘स्थानीय तह जनताको सेवक भएर काम गर्नुपर्छ, स्रोतको राम्रो परिचालन गर्न सक्नुपर्छ, तब मात्र जनताको अपेक्षा पूरा गर्न सकिन्छ’, उनले भनेका छन् ।

Published : Monday, 2022 June 27, 8:34 am

फेसबुकबाट तपाईको प्रतिक्रिया