कांग्रेस भएर अन्य पार्टीमा भोट हाल्न लगाउने कुरा उचित होइन : खड्का

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले आफूले शिर निहुरिने गरेर कहिल्यै काम नगर्ने बताएका छन् ।

आइतबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै खड्काले स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई प्रभावकारी रुपमा जनताको पक्षमा काम गर्न आग्रह गरे । उनले आफूले पनि कर्णालीवासी र सुर्खेती जनताको शिर निहुरिने गरी कहिल्यै काम नगर्ने बताएका छन् ।

‘निराशा र नकरात्मक सोचले पार्टीमा काम नगर्नुस्’, उनले भनेका छन् ।

खड्काले स्थानीय तहको निर्वाचनमा कांग्रेसले पाएको जनमत गौरव गर्न लायक भएको बताएका छन् ।

२०४९ सालपछि कांग्रेसले सबैभन्दा बढी सीट जितेको उनले बताएका छन् ।

कांग्रेसभित्रकै साथीहरूका कारण केही समस्या भएको उप–सभापति खड्काले बताएका छन् ।

‘रुख चिन्हबाहेक अन्य ठाउँमा भोट नहालेको भए ६२ प्रतिशत कांग्रेसले जित्ने आङ्कलन अहिलेको तथ्याङ्कले देखाउँछ’, उनले भने, ‘सबै पार्टीभित्र समस्या छ । त्यो कांग्रेसमा पनि छ ।’

‘पार्टीभित्रको विमत्तिलाई बहाना बनाएर कसैले पनि कांग्रेसको निर्णयविरुद्ध, रुखबाहेक अन्य पार्टीमा भोट हाल्न लगाउने कुरा उचित हुँदैन’, उप–सभापति खड्काले भनेका छन् ।

सुर्खेतमा कांग्रेसभित्रको अन्तरविरोधलाई लक्षित गर्दै उप–सभापति खड्काले पार्टीभित्र समस्या भयो भन्दैमा अर्कोलाई मत हाल्न लगाउनु कुनै पनि हालतमा सह्य हुन नसक्ने बताएका छन् ।

‘समस्याको समाधान पार्टीभित्र गरिनुपर्छ’, खड्काले भने, ‘पार्टी बिर्सन थाल्नुभयो भने एक्लै हिँड्ने प्रवृत्ति हावी हुन्छ । जसले गर्दा पार्टीमा समस्या हुन्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिहरूलाई जनताको पक्षमा रहेर काम गर्न आग्रह गरेका छन् ।

‘निर्वाचित जनप्रतिनिधिमा लोभ लालच बढ्नुभएन’, खड्काले भने, ‘व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुहोस् ।’

Published : Sunday, 2022 June 26, 7:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया