आले ग्याङको च्याप्टर क्लोज, एकीकृत समाजवादीद्वारा भाँडभैलो गर्ने ४ केन्द्रीय सदस्यलाई कारबाही

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीको नीति र आचरण विपरितको हर्कत गर्ने चार जना केन्द्रीय सदस्यहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।

काठमाडौंमा शनिबार बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले चार केन्द्रीय सदस्यलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारबाही गरेर निष्काषन गरेको हो ।

केन्द्रीय सदस्यहरू लोकबन्धु काङ्दङ्वा (झापा), तरकबहादुर शाही (दैलेख), राज्यलक्ष्मी बम मल्ल (मुगु) र नारद मलासी (डोटी)लाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको केन्द्रीय प्रचार विभागका उप–प्रमुख शम्भु श्रेष्ठले जानकारी दिएका छन् ।

उनीहरूले स्थानीय तह निर्वाचनमा पार्टीको निर्देशन विपरीत कार्य गरेको भन्दै बैठकले कारबाही गरेको श्रेष्ठले बताए ।

एकीकृत समाजवादीले केन्द्रीय सदस्यमा कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनीत गरेको छ ।

एकीकृत समाजवादीको चौथो केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने सचिवालयको निर्णय सर्वसम्मतले पारित गरेको छ ।

सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

पुरानालाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय केन्द्रीय कमिटीले अनुमोदन गरेसँग आले, झाक्री, श्रेष्ठ र खतिवडाको ग्याङको मन्त्री बनिरहने इच्छा तुहिएको छ ।

महासचिव बेदुराम भुसालले प्रस्तुत गरेको प्रतिवेदन केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिवेदनमा मुलुकको वर्तमान अवस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तु समावेश छन् ।

राष्ट्रिय विषयमा संविधान र राजनीतिक व्यवस्था संरक्षणका लागि गठबन्धनको औचित्य र आवश्यकताबारे प्रतिवेदनमा प्रष्ट पारिएको छ ।

सो प्रतिवेदनलाई यही १३ गते बस्ने केन्द्रीय परिषद् बैठकमा छलफल गरिनेछ ।

Published : Saturday, 2022 June 25, 9:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया