यी १७ जना एसएसपीहरूलाई डीआईजी बढुवामा सिफारिस, कीर्ते काण्डका सिलवाललाई सफाइ दिने पनि सूचीमा परे

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस गरेको छ ।

असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् ।

दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।

तेस्रो नम्बरमा अशोक सिंह, ४ नम्बरमा दीपक थापा र ५औँ नम्बरमा श्यामलाल ज्ञवालीको बढुवा भए सिफारिस भएको छ ।

बढुवा सिफारिस हुनेमा किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ पनि रहेका छन् ।

उमेशराज जोशी, भीमप्रसाद ढकाल, रामदत्त जोशी, पोषणराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा पनि डीआईजी बढुवाको सिफारिसमा परेका छन् ।

डीआईजी सिफारिसमा तेस्रो नम्बरमा अशोक सिंह परेका छन् । सिंहले कीर्ते काण्डमा तत्कालीन डीआईजी नवराज सिलवाललाई उन्मुक्ति दिने काम गरेका थिए ।

एमालेका सांसद समेत रहेका सिलवाललाई सफाइ दिएको पुरस्कारस्वरुप बालुवाटारले सिंहलाई डीआईजी बढुवाको तेस्रो नम्बरमा राखेको छ । धेरै जुनियर हुँदाहुँदै पनि सिंहले तेस्रो नम्बरमा स्थान जमाएका छन् ।

सिंहले विश्वराज पोखरेलले आफूभन्दा सिनियरहरूलाई उछिनेर बढुवा सिफारिसको अग्रस्थान बनाएका छन् ।

डीआईजी बढुवाको सिफारिसमा परेका टेकप्रसाद राईलाई अख्तियारका प्रमुख प्रेम राईको जोडबलमा दोस्रो नम्बरमा राखिएको छ ।

डीआईजी दीपक थापालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा चौथो नम्बरमा राखिएको छ ।

Published : Thursday, 2022 June 23, 8:03 am

फेसबुकबाट तपाईको प्रतिक्रिया