एमाले निकट अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच १० करोडको डिल

काठमाडौं । एमाले निकटका अधिवक्ता रुद्र पोखरेल र काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाबीच १० करोड घुसको डिल भएको अडियो रेकर्ड बाहिरिएको छ ।

न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच व्यावसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस लेनदेनबारेमा सम्वाद भएको छ । सो अडियो सार्वजनिक भएको छ ।

न्यूज २४ टिभीले मंगलबार साँझ अडियो सार्वजनिक गरेपछि खैलाबैला भएको छ ।

न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार दिउँसो १ बजे न्यायपरिषदको बैठक बोलाएका छन् ।

अडियोमा नाम मुछिएका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र काठमाडौं जिल्ला अदालतका न्यायाधीशहरू राजुकुमार खतिवडा र अम्बिकाप्रसाद निरौलाको भूमिकामाथि पनि छलफल हुनेछ ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरूलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् ।

त्यसमा कोइराला आफू तयार रहेको तर, माथिल्लो निकायबाट पनि जानकारी आउनुपर्ने कुरा उल्लेख गरेका छन् ।

अधिवक्ता पोखरेलले प्रधानन्यायाधीशदेखि काठमाडौं जिल्ला अदालतका प्रमुखसम्मलाई आफूले मिलाउने कुरा अडियोमा गरेका छन् ।

अधिवक्ता पोखरेल एमालेको कानून विभाग सदस्यसमेत हुन् । घुसको डिल भएको समयमा पोखरेल नेपाल बार एशोसिएसनको कोषाध्यक्ष थिए ।

न्यायाधीश कोइरालासँग घुसको डिल गरेको वार्तामा अधिवक्ता पोखरेलले आफूले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत् जिल्ला अदालतका मुख्य न्यायाधीश राजुकुमार खतिवडालाई भन्न लगाउने आश्वासन दिएका छन् ।

सो समयमा नेपाल बार एसोसिएसन प्रधानन्यायाधीश जबरामा न्यायिक विचलन आएको भन्दै जबराको राजीनामा मागेर आन्दोलनमा थियो ।

अधिवक्ता पोखरेल भने खुलेरै बारको आन्दोलनको विरोधमा र प्रधानन्यायाधीश जबराको पक्षमा लागेका थिए ।

Published : Wednesday, 2022 June 22, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया