आले र अधिकारीका कारण भाँडभैलो, सबै जहाज–हेलिकप्टर नउड्ने

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि अन्तरिक उडानअवरुद्ध गर्ने निर्णय गरेको छ ।

संघको निर्णयले नेपाल नागरिक उड्डयन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई टाउको दुखेको छ ।

विमानहरूको रात्रिकालीन पार्किङ विवादले बुधबारदेखि अन्तरिक उडान अवरुद्ध हुने भएको छ ।

प्राधिकरणले उडान सुरक्षालाई थप सुदृढीकरण गर्नेभन्दै असार ७ गतेदेखि आन्तरिक उडान गर्ने हेलिकप्टर र विमानलाई उडान अनुमतिपत्रले तोकेको विमानस्थलमै राख्नुपर्ने गरी सर्कुलन जारी गरेको थियो ।

प्राधिकरणले दुई दिनको समय दिएर धेरै वायुयानलाई उपत्यका बाहिर रात्रिकालीन पार्किङमा जानुपर्ने व्यवस्था गरेपछि संघ आन्दोलित भएका छ ।

संघका अध्यक्ष रामेश्वर थापाले प्राधिकरणले दमनकारी नीति लिएकाले विरोधमा उत्रनु परेको प्रतिक्रिया दिएका छन् ।

वायुयान सञ्चालकहरूलाई प्राधिकरणले दमनकारी नीति ल्याएर ट्रक व्यवसायीलाई जस्तै व्यवहार गरेको अध्यक्ष थापाले बताएका छन् ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हड्तालमा गए कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

‘यो सेवा हड्ताल गर्न नपाइने क्षेत्र होभन्ने नभुल्नू’, उनले चेतावनी दिँदै भनेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षमता १७ वटा जहाजका लागि रहेको छ । अहिले ५२ वटा जहाज पार्किङ गरिँदै आइएको छ ।

क्षेत्रीय विमानस्थलहरुमा मर्मत सम्भार तथा चेकजाँच गर्ने सुविधा नरहेको र भौतिक सुविधा पनि पर्याप्त नभएकाले तत्काल रात्री बिसान बाहिर गर्न नसक्ने वायुसेवा कम्पनीहरूको भनाइ छ ।

पर्यटन मन्त्री प्रेमबहादुर आले र महानिर्देशक अधिकारीको हर्कतले गर्दा वायुयान सञ्चालकहरू आन्दोलनमा उत्रिएका छन् । आले र अधिकारीका गतिविधिलाई धेरैले रुचाएका छैनन् ।

Published : Tuesday, 2022 June 21, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया