मन्त्री पद फुत्किन केही घण्टा अगाडि आले औकात देखाए, भतिजालाई मालामाल बनाए

काठमाडौं । साँढे मन्त्रीका रुपमा परिचित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले भतिजालाई राजनीतिक नियुक्ति दिएका छन् ।

मन्त्री पद फुत्किन केही घण्टा बाँकी रहेका बेला ओले तारागाउँ विकास समितिको सदस्य सचिवमा महेन्द्रबहादुर थापालाई नियुक्त गरेका हुन् ।

सदस्य सचिवमा आलेको पार्टी नेकपा (एकीकृत समाजवादी)ले अर्कै व्यक्तिलाई सिफारिस गरेको थियो । आलेले मन्त्रिपरिषदमा आफ्नो भतिजाको नाम सदस्य सचिवमा प्रस्ताव गरेर नियुक्त गराइछाडेका छन् ।

राजनीतिक नियुक्ति गर्दा आर्थिक लाभ लिने गरेको आरोप खेप्दै आएका मन्त्री आलेले भतिजालाई नै सदस्य सचिव बनाएका हुन् । आर्थिक लाभ हुने छाँटकाँट नदेखेपछि आलेले पार्टी नेतृत्वलाई झुक्याउँदै सदस्य सचिव पदमा भतिजा पर्ने थापालाई नियुक्ति दिलाएको एकीकृत समाजवादीभित्र चर्चा छ ।

मंसिर २८ गते तत्कालीन सदस्य सचिव झविन्द्र ज्ञवालीले अध्यक्ष प्रह्लाद न्यौपानेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा दिएका थिए ।

एकीकृत समाजवादीले अघिल्लो कार्यकालमा सदस्य सचिव भएर राम्रो काम गरेको भन्दै नारद लुइँटेललाई सिफारिस गरेको थियो । लुइँटेललाई सो पदमा ल्याउन मन्त्री आलेले चाहेका थिएनन् ।

आलेले सुरुमा लुइँटेलसँग तपाईंलाई नियुक्ति गर्छु, त्यसबापत पैसा दिनुपर्छ भनेर बार्गेनिङ गरेको आरोप छ । आलेलाई पैसा दिन लुइँटेलले मानेनन् ।

मन्त्री आलेले जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्य सचिवमा भतिजा पर्ने थापालाई नियुक्त गराएका छन् ।

सदस्य सचिवमा नियुक्त भएका थापा मन्त्री आलेकै स्वकीय सचिवालयमा कार्यरत छन् ।

एकीकृत समाजवादीले आलेसहितका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँलाई पठाउन लागेको छ । आफ्नो पद जान लागेका बेला आले धमाधम नियुक्तिहरू र कानून विपरितका हर्कत गरेको आरोप कर्मचारीहरूको छ ।

अदालतमा विचाराधीन रहेका मुद्धामा समेत आलेले मानहानी लाग्ने गरेर निर्णय गराउन कर्मचारी र पदाधिकारीहरूलाई दवाव दिने गरेका छन् ।

एकीकृत समाजवादीको निर्णयअनुसार आले मन्त्री पदबाट जाने पक्का भइसकेको छ । आलेले गराउने गैरकानूनी र अदालतको मानहानी हुने कुनै पनि निर्णय नगर्न मन्त्रालयका कर्मचारी र पदाधिकारीहरूलाई सचेत रहन आग्रहहरू पनि भएका छन् ।

Published : Friday, 2022 June 17, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया