दरबारमार्गको प्लाटिनम डिस्कोमा काण्ड गर्ने टोले गुण्डा पक्राउ, अरु गुण्डाहरूको भागाभाग

काठमाडौं । दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गरेर टाउको फुटाउने ग्याङ सदस्य कुलध्वज लामा ‘कुले’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दरबारमार्गमा एकहप्ता अगाडि टोले गुण्डा ‘कुले’को ग्याङले बालुवाटारका प्रतिकभास्कर सिंहलाई कुटपिट गरेर गम्भीर घाइते बनाएको थियो । कुटपिटबाट चोट लागेका सिंहको टाउकोमा ७ वटा टाँका समेत लागेको छ ।

सिंहलाई कुटपिट गरेपछि ‘कुले’सहितका उनको ग्याङ फरार भएको थियो ।

प्रहरी वृत्त दरबारमार्गका प्रहरी प्रमुख (डीएसपी) विश्वराज खड्काले अपराधमा संलग्न ‘कुले’ भन्ने कुलध्वज लामालाई पक्राउ गरेर कारबाही शुरु गरिएको जानकारी दिए ।

‘दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट र अपराधमा संलग्नहरूको खोजीमा केही ढिला भयो’, उनले भने, ‘प्रहरीसँग अपराध गरेर भागेकाहरू धेरै दिन लुकेर बस्न सक्दैनन् । ढिलोचाँढो पक्राउ गरेर कारबाही गरेरै छाडिन्छ ।’

स्रोतका अनुसार डीएसपी खड्काले अपराध गरेर भागेका ‘कुले’सहितका समूहलाई जहाँ देख्यो त्यही कडा कारबाही गर्ने र आवश्यक पर्दा गोली समेत चलाउन सक्ने चेतावनी दिएका थिए । चेतावनीपछि डरले थरथर भएका टोले गुण्डा ‘कुले’ दुलोभित्रबाट बाहिर निस्कनेवित्तिकै दरबारमार्ग प्रहरीले च्याप्प पारेको छ ।

प्लाटिनम डिस्कोका प्रमख दोषी ‘कुले’ रहेको प्रारम्भीक अनुसन्धानमा देखिएको छ । तर, प्रहरीले सो घटनामा को–को संलग्न थिए भनेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्लाटिनम डिस्कोको घटनामा संलग्न तथा फरार रहेकाहरूको खोजी कार्य जारी रहेको डीएसपी खड्काले बताएका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रहरी प्रमुख (एसएसपी) सुदीप गिरीले दरबारमार्गको प्लाटिनम डिस्कोमा कुटपिट गर्ने समूहलाई हदैसम्मको कारबाही हुने बताएका छन् । उनले भने, ‘केही दोषी व्यक्ति पक्राउ परेका छन् । दरबारमार्गको डीएसपी’सबलाई के–के भइरहेको छ सोध्नुस् । दोषीलाई हदैसम्मको कारबाही हुन्छ । अपराधीले छुट पाउँदैन । शान्ति सुरक्षा बनाउने विषयमा कसैसँग सम्झौता हुँदैन ।’

कुटपिटमा संलग्न सञ्जय लामा फरार छन् । सञ्जयलाई पनि प्रहरीले खोजी गरिरहेको छ ।

टोले गुण्डा ‘कुले’ र उनको ग्याङ गुण्डा नाइके दावा लामाको समूहका सदस्यहरू हुन् । दावा लामा लकडाउनको समयमा सुटुक्क नेपाल छिरेका थिए ।

Published : Thursday, 2022 June 16, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया