दरबारमार्गको डिस्कोमा दावाका गुण्डाहरूले धुलाइ गरे, डरले थरथर भयो प्रहरी

काठमाडौं । गुण्डाहरूले सबैभन्दा सुरक्षित मानिएको काठमाडौंको दरबारमागमा फेरि उत्पात मच्चाउन थालेका छन् ।

बिहीबार बिहान करीव साढे ३ बजे काठमाडौंको दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा बालुवाटारका प्रतिकभाष्कर सिंहलाई सांघातिक आक्रमण भएको छ । सिंहलाई काभ्रेली गुण्डाहरूको समूहले आक्रमण गरेर घाइते बनाएको हो । आक्रमणकारीहरू फरार छन् । प्रहरीले ती आक्रमणकारीहरूको सुइको समेत पाएको छैन ।

काभ्रेपलाञ्चोक जिल्लाको भुम्लु गाउँपालिकाका डलर लामा, नवबुद्ध नगरपालिकाका सञ्जय लामा, रोशी गाउँपालिकाका कुलध्वज लामासहितको १० जनाको ग्याङले फिल्मीशैलीमा सिंहलाई कुटपिट गरेको सीसीटीभीको फुटेजमा हेर्न सकिन्छ । सिंहलाई आक्रमण गर्ने समूह गुण्डा नाइके जितेन्द्रमान तामाङ उर्फ ‘दावा लामा’को ग्याङ हो ।

दावा लामा भुम्लु गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । कांग्रेस र सत्ताको आडमा आफ्ना सुण्डमुण्डलाई दावाले फेरि दरबारमार्गसहितका काठमाडौंका विभिन्न स्थानमा परिचालन गर्न थालेपछि प्रहरीको टाउको दुखाइ भएको छ ।

गुण्डा नाइके दावा लामा र काभ्रे कांग्रेसका सभापति तीर्थ लामाले कुटपिटमा संलग्न गुण्डाहरूलाई बचाउन प्रहरीलाई राजनीतिक दवाव दिएर उत्पात गरेको आरोप छ ।

कुटपिटबाट घाइते सिंहको टाउकोमा सातवटा टाँका लगाइएको छ । उनी नेपाली सेनाका पूर्वकर्नेलका छोरा भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । शनिबार रिपब्लिका दैनिकसँग कुरा गर्दै प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी विश्व खड्काले कुटपिटमा संलग्न समूह फरार रहेको बताए । उनले भने, ‘पीडित पक्षले जोहेरी दिएको छ । हामी कुटपिटमा संलग्नहरूलाई खोजी गरिरहेका छौँ । छिट्टै पक्राउ गरेर कानूनी कारबाही हुन्छ ।’

काठमाडौंको मुटु मानिने दरबारमार्गमा अपराधको घटना भएको शनिबारसम्म आइपुग्दा पनि अपराधका आरोपीहरू पक्राउ पर्न सकेका छैनन् । नेपाल प्रहरी अपराध अनुसन्धानमा काबिल मानिन्छ । तर, दरबारमार्ग प्रहरीले किन अपराधमा संलग्नहरूलाई अहिलेसम्म फेला पार्न नसकेको हो रहस्यको विषय बनेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा एआईजी रविन्द्रबहादुर धानुक, काठमाडौं प्रहरी परिसरको प्रमुखमा एसएसपी सुदीप गिरी छन् । उनीहरूले पनि दरबारमार्गमा गुण्डागर्दी गर्ने ग्याङलाई ७२ घण्टा पुग्नै लाग्दा पनि पक्राउ गर्न सकेको छैन ।
‘चरी’, ‘घैँटे’ जस्ता गुण्डाहरूलाई प्रहरीले ईन्काउन्टरमा ढालेपछि सुस्ताएको काठमाडौंको अपराध पुनः दरबारमार्ग, गल्फुटारसहितका स्थानमा देखिन थालेको छ ।

गल्फुटारमा दावा लामाकै समूहका अनिल र सुनिलको समूहले यस्तै आतंक मच्चाउँदा बुढानिलकण्ठका प्रहरी निरीक्षक अनिल ठकुरीले बिहीबार पक्राउ गरेर हिरासतमा राखेर कारबाही चलाएका छन् । तर, दरबारमार्ग प्रहरी कानमा तेल हालेर बसेको छ ।


सिंहलाई कुटपिटमा संलग्न कुलध्वज लामा विभिन्न आपराधिक घटनामा पटक–पटक पक्राउसमेत परेका छन् । बुद्धचित्त माला लुटपाट घटनामा कुलध्वज करीव २ वर्ष जेलसमेत परेका थिए । उनी विभिन्न ठाउँमा भएको सुन लुटपाटका घटनामा समेत संलग्न रहेको खुलेको थियो ।

प्लाटिनम डिस्को काभ्रे घर भएका सञ्जय लामा र मिलन कार्कीले सञ्चालन गरेका छन् । प्लाटिनम डिस्को दरबारमार्गको सबैभन्दा धेरै लफडा हुने डिस्कोमा पर्छ । प्रहरी पनि प्लाटिनममा हुने हर्कतबाट दिक्क छ ।

Published : Saturday, 2022 June 11, 2:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया