तारा एअरले प्रतिक्रिया दियो

काठमाडौं । तारा एअरले पोखराबाट जोमसोमको लागि उडेको वायुयान (जहाज)को खोजी कार्य भइरहेको जनाएको छ ।

तारा एयरले आइतबार बेलुका ७ बजे विज्ञप्ति जारी गरेर खाज तथा उद्दारमा स्थल र हवाई माध्यमबाट सघन बनाइरहेको जनाएको छ । साँझ ७ बजेसम्म हराइरहेको तारा एअरको वायुयान फेला परेको छैन ।

‘आइताबरका दिन बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको वायुयान सम्पर्क विहीन भई हराइरहेकोले नेपाल नागरिक उड्डयन प्राधिरण, खोज तथा उद्दार समन्वय केन्द्रमार्फत खोजबिन कार्यलाई सम्भावित स्थानहरू केन्द्रित गरिएकोमा खराब मौसम तथा जटिल भूगोलको कारण उक्त वायुयानको स्थिति हालसम्म अज्ञात रहेको छ’, विज्ञप्तिमा उल्लेख छ ।

तारा एअरले भनेको छ, ‘प्राधिकरणले २४सैं घण्टा खोज तथा उद्दार समन्वय केन्द्र खुला रहने व्यवस्था मिलाई खोजबिन कार्यलाई स्थल एवम् हवाई माध्यमबाट सघन बनाइरहेको व्यहोरा समेत जानकारी गराउँदछौँ ।’

‘विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा आजको घटनासँग असान्दर्भिक फोटो, भिडियोहरू प्रयोग भइरहेको र यस्ता क्रियाकलापबाट चालकदल एवम् यात्रुहरूको परिवार तथा आफन्तजनहरूको भावनामा थप आघात पुग्ने भएकाले आधिकारिक रुपमा सूचना, फोटो, भिडियोहरू नआएसम्म जथाभावी प्रयोग नगरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

‘यस विषम परिस्थितिमा संवेदनशील भई धर्यताका साथ सहयोग गरिदिनु हुन पनि अपील गर्दर्छौं’, तारा एअरले भनेको छ ।

तारा एअरले आइतबार बिहान पोखराबाट जोमसोमको लागि ९ बजेर ५५ मिनटमा वायुयान उडेको थियो । वायुयान अन्तिम पटक जोमसोम टावरसँग बिहान १० बजेर ७ मिनटमा सम्पर्क भएको थियो । वायुयानले म्याग्दीको घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

वायुयान हराइरहेको सम्भावित स्थानीहरू न्याउरीकोट, कोवाङ, लेते, घोडेपानी र टिटी ताल वरिपरी खोजविन कार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

हराइरहेको वायुयानलाई खोजीका लािग नेपाली सेना, नेपाल प्रहरी, तथा तारा एअरको उद्धार टोली परिचालन भएको छ ।

नेपाली सेनाको एमआई १७ र फिस्टेलको हेलिकप्टरमार्फत पनि खोजी भइरहेको तारा एअरले जनाएको छ ।

तारा एअरले हराइरहेको वायुयानमा ३ जना चालक दलका सदस्य, १३ जना नेपाली, ४ जना भारतीय र २ जना जर्मन नागरिक रहेको जनाएको छ ।

तारा एअरको वायुयानलाई केप्टन प्रभाकर घिमिरे र सह–पाइलट उत्सव पोखरेलले उडाएका थिए ।

Published : Sunday, 2022 May 29, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया