तारा एयरको सम्पर्कविहीन विमान खोजीबारे यस्तो आयो गृहमन्त्रीको कुरा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको अल्फा इको ट्यांगो कल साइन भएको जहाज खोजी कार्यमा कुनै कसुर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, गण्डकी प्रदेशका प्रहरी प्रमुख डीआईजीपी दिवेश लोहनी र मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई टेलिफोन गरी यथाशक्य खोजी कार्यलाई तिव्रता दिन निर्देशन दिएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार पोखराबाट बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको विमान मुस्ताङको लेतेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्क विहीन बनेको थियो ।

लेतेबाट धौलागिरी हिमालतर्फ मोडिएको देखिएको र त्यसपछि सम्पर्क हुन नसकेको प्राविधिकहरूले बताएको जानकारी दिएका छन् ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्माले गृहमन्त्री खाणको निर्देशनपछि धौलागिरी आसपास पाँच जिल्लाका सुरक्षा अधिकारीहरूलाई अलर्टमा रहन निर्देशन दिएको जानकारी दिएका छन् ।

जहाजको खोजी कार्यका लागि फिस्टेल एयरको हेलिकोप्टर मुस्ताङबाट उडिसकेको उनले जानकारी दिए ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर पनि उडाउने तयारी भइरहेको कास्कीका प्रजिअ आचार्यले जानकारी दिए ।

सम्पर्क विहीन भएको जहाजमा १३ नेपाली, ४ भारतीय र दुई जर्मन नागरिक गरी १९ जना सवार छन् ।

Published : Sunday, 2022 May 29, 12:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया