चीनका नेताहरू आयात गरेर उत्पात मच्चाएका ईश्वर पोखरेलले फेरि सबैलाई चकित तुल्याइदिए

काठमाडौं । एमालेका वरिष्ठ उपाध्यक्ष समेत रहेका सांसद ईश्वर पोखरेलले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यतालाई सरकारले लुकाएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा शुक्रबार धारणा राख्दै सांसद पोखरेलले सरकारले नीति तथा कार्यक्रममा परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको अयोग्यता र राष्ट्रिय हितविपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पछिल्लो भारत भ्रमणको क्रममा इपिजी प्रतिवेदन र चुच्चे नक्साको कुरा नगर्नु खेदजनक भएको पोखरेलले बताएका छन् ।

‘यो नीति तथा कार्यक्रममा सरकारले परराष्ट्र नीति तथा बाह्य सम्बन्धमा देखा परेको चरम अयोग्यता र राष्ट्रिय हितविपरीतका कुराहरूलाई लुकाउने प्रयास गरेको छ’, एमालेका उपाध्यक्ष पोखरेलले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाजीले भारत भ्रमणका समयमा आफ्ना कुरा उठाउन सक्नुभएन ।’

उनले भनेका छन्, ‘म लज्जाबोध गर्दछु । त्यहाँ उहाँको लाचारीपूर्ण उपस्थिति मात्रै रह्यो । यो आरोप फत्तुर होइन, एउटा दुर्भाग्यपूर्ण यथार्थ के हो भने हाम्रो प्रधानमन्त्रीजीको उपस्थिति त्यस्तो रह्यो जसमा हामी दुःख व्यक्त गर्न सक्छौँ ।’

‘नेपाल–भारत दुवै देशका सरकारका प्रतिनिधिहरूको तर्फबाट सहमतिमा तयार गरिएको इपिजी अनिश्चित बनाउन खोजिएको प्रतिवेदन तथा नेपालको चुच्चे नक्सा जस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीजीले चुँसम्म पनि गर्नुभएन’, पोखरेलले भने, ‘यो खेदजनक कुरा थियो ।’

पछिल्लो समय भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको उपस्थिति लज्जाजनक भएको एमालेका सांसद पोखरेलले बताएका छन् ।

उनले सरकार एक चीन नीतिको विपरीत अगाडि बढेको हो ? भन्ने प्रश्नसमेत गरेका छन् ।

अमेरिकी विदेश सहायक मन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीलाई भेट्न दिएकोप्रति उनले आपत्ति जनाएका छन् ।

पोखरेलले एमालेलाई हमला गरेर सिध्याउने र स्थानीय तहको निर्वाचन नगरेर डरलाग्दो रिक्तता सिर्जना गर्ने सत्तारुढ गठबन्धनको योजना असफल भएको बताएका छन् ।

तत्कालीन झण्डै दुईतिहाईको असफल कम्युनिस्ट सरकारका पालामा उप–प्रधान र रक्षा मन्त्री बनेका बेला पोखरेलले आफ्नो पदीय मर्यादा विपरीत चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूसँग भिडियोमा बैठक गर्ने, चीनका कम्युनिस्ट नेतालाई नेपाल ल्याएर पार्टीको बैठकमा नेताहरूलाई प्रशिक्षण दिन लगाउने जस्ता हर्कत गरेपछि पोखरेल विवादमा तानिएका थिए ।

पोखरेलको त्यो हर्कतकै कारण उनको रक्षा मन्त्री पद खोसेर तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफैसँग राखेर पोखरेललाई विनाविभागीय मन्त्रीमा सीमित गरिदिएका थिए ।

सत्ता फुत्किएको र स्थानीय तहमा एमालेको पराजय भएको विषयमा पोखरेलले नेपालको भारत, चीन र अमेरिकासँगको सम्बन्ध बिग्रिने गरेर संसदमा अभिव्यक्ति दिएको टिकाटिप्पणी भएका छन् ।

Published : Saturday, 2022 May 28, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया