ओलीको अहँकारपूर्ण अभिव्यक्तिको यस्तो छ भित्री कुरा, चीनतिर ढल्कियो एमाले

काठमाडौं । झण्डै ९ महिनापछि एमालेका अध्यक्ष एवम् संसदीय दलका नेता खड्गप्रसाद ओलीले रणनैतिक रुपमा संसदमा धारणा राखेका छन् ।

बिहीबार आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले दुई दलको मात्रै बिरोध गरे । करीव ३ घण्टा रोस्टमबाट बोलेका ओलीले अरु दलहरूका विरुद्ध धेरै बोलेनन् ।

ओलीले नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)विरुद्ध कडा रुपमा आफ्ना अभिव्यक्ति राखे । तर, ओलीले माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूविरुद्ध बोलेनन् ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कुनै पनि कठोर कुरा बोलेनन् । ओलीले उपेन्द्र यादव र महन्थ ठाकुरविरुद्ध पनि बोलेनन् ।

ओलीले प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध कठोर टिप्पणी र आलोचना गरेका थिए । ओलीले देउवाविरुद्ध व्यक्तिगत रुपमै तल्लोतहमा उत्रिएर आलोचना गरेका थिए । ओलीले माधवकुमार नेपालविरुद्ध पनि विभिन्न उदाहरणहरूसहित तल्लोस्तरको आलोचना गरेका छन् ।

संसदमा ओलीले दिएको अभिव्यक्ति र टिप्पणीले कांग्रेस नेतृत्वको गठबन्धन भत्काउने रणनीतिका साथ अगाडि आएको देखिएको छ । ओलीले बोल्ने क्रममा सरकारको नेतृत्वमा आफू आउने बताएका थिए ।

ओलीले सत्ता गठबन्धनको सबैभन्दा धेरै विरोध गरेका छन् । उनले स्थानीय तहको निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनबाट पराजय भएको कुराको सबैभन्दा धेरै तिक्तता पोखेका छन् । उनले पराजयको पीडालाई संसदमा राखेर मन हल्का बनाएका छन् ।

ओलीले भारतको आलोचना गरेर फेरि कथित राष्ट्रवादी बन्ने योजना बनाएका छन् । उनले भारतको विरोध गरे । चीनको पक्षमा धारणा राखेका एमालेका अध्यक्ष ओलीले अमेरिकाको विरोध गरेका छन् ।

ओलीले देउवा सरकार चीन विरोधी गतिविधिमा संलग्न रहेको आरोप लगाए । उनीले नेपालको एक चीन नीतिबारे देउवासँग धारणा माग गरेका छन् ।

ओलीले लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा पनि सरकारको धारणा माग गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रमको विरोध गरेका ओलीले पूर्ववर्ती आफ्नो सरकारको कार्यक्रमहरूलाई नाम परिवर्तन गरेर देउवा सरकारले ल्याएको भनेर टिप्पणी गरेका छन् ।

ओलीले अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि आलोचना गरेका छैनन् । अर्थमन्त्री शर्माको आलोचना नगरेर ओलीले देउवाकै आलोचना गर्न धेरै समय खर्च गरेका छन् ।

ओलीले माओवादीसँग सम्बन्ध सुधारको प्रयास गरेका छन् । माओवादीको आलोचना नगरेर ओलीले रणनैतिक रुपमा सत्ता गठबन्धन भत्काउने योजना बनाएको स्पष्ट रुपमा बुझ्न सकिन्छ ।

उपेन्द्र यादवसँग दुई दिन अगाडि भेट गरेर सत्ता गठबन्धन भत्काउने विषयमा छलफल गरेका ओलीले संसदमा दिएको अभिव्यक्ति निकै चलाखीपूर्ण छन् ।

आफ्नो व्यक्तिगत स्वार्थका कारण ओलीले दुई पटकसम्म संसद विघटन गरेका थिए । अहिले आएर ओलीले नै तीन घण्टासम्म बोलेर सबैलाई चकित तुल्याइदिएका छन् । बाध्य भएर ओलीले आफैले विघटन गरेको संसदमा बोल्नु परेको छ । हारको पीडा पोख्नु परेको छ ।

Published : Thursday, 2022 May 26, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया