प्राधिकरणको महानिर्देशक विवाद छिटो फैसला गर्न आग्रह, साँढे मन्त्रीको हर्कतले कर्मचारी दिक्क

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्ति प्रकरणको रिटको सुनुवाई प्रक्रिया लम्बिदै गएपछि समस्याहरू उत्पन्न हुन थालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले प्राधिकरणको महानिर्देशकबाट राजकुमार क्षेत्रीलाई नियमावली विपरित हटाएर कनिष्ठ प्रदीप अधिकारीलाई महानिर्देशक नियुक्त गरेका थिए ।

मन्त्री आलेको सो कार्यले आफू अन्यायमा परेको भन्दै क्षेत्री न्यायका लागि सर्वोच्च अदालतमा रिट दायर गर्न पुगेका थिए ।

सर्वोच्च अदालतले पनि क्षेत्रीलाई काममा फर्कन आदेश दिएको थियो । तर, मन्त्री आले, सचिव महेश्वर न्यौपाने र अधिकारीले क्षेत्रीलाई काममा फर्किन अबरोध गरेका छन् ।

महानिर्देशक नियुक्ति प्रकरण विवाद बढेपछि प्राधिकरणले सहज रुपमा काम गर्न सकेको छैन । प्राधिकरणका कर्मचारीहरूले पनि महानिर्देशक विवाद छिटोभन्दा छिटो सर्वोच्च अदालतले टुंग्याइदिनुपर्ने माग राखेका छन् ।

एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘सर्वोच्च अदालतबाट कानून र नियमाली हेरेर पीडितलाई न्याय हुनेछ भन्ने आशा लिएका छौँ । मन्त्री र सचिवका कारण प्राधिकरणमा भद्रगोल भएको छ । त्यो भद्रगोललाई रोक्ने भनेको सर्वोच्च अदालतको अन्तिम फैसला नै हो ।’

अधिकारीले महानिर्देशक नियुक्ति प्रक्रियासम्बन्धी रिटको सुनुवाईलाई लम्बाएर आफ्नो पदका आयु बढाउने खेलमा लाग्दै आएको आरोप छ ।

प्राधिकरणको गरिमा र कानून विपरितका कार्यलाई रोक्नका लागि सर्वोच्च अदालतले छिटोभन्दा छिटो फैसला गर्नुपर्ने माग क्षेत्रीको छ । क्षेत्रीले भने, ‘मलाई कानून विपरित अन्यायपूर्वक हटाइयो । मलाई सम्मानित सर्वोच्च अदालतले काममा फर्किन पनि आदेश भएको छ । काम गर्न दिइएन । अब सर्वोच्चले छिटोभन्दा छिटो फैसला गरेर न्याय दिनुपर्छ ।’

अधिवक्ता शिव अर्यालले न्यायालयले जनता र राज्यसँग जोडिएका महत्वपूर्ण विषयलाई अग्राधिकारमा राखेर सुनुवाई गर्नुपर्ने बताएका छन् । उनले महानिर्देशक नियुक्ति विवादले गर्दा प्राधिकरणमा झन् समस्या उत्पन्न हुनेभन्दै छिटो फैसला गर्नुपर्ने तर्क राखेका छन् ।

आफ्नै मातहतका कर्मचारीहरूलाई साँढे भनेर अपमान गर्ने, गालीगलौज गर्ने, पदीय मर्यादा विपरित बोल्ने जस्ता हर्कत गर्दै आएका मन्त्री आलेले मातहतका उच्च कर्मचारीहरूलाई विभिन्न खालका अनुचित दवाव दिएर हटाउनेसम्मका धम्की दिने गरेको आरोप छ ।

Published : Monday, 2022 May 23, 7:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया