दाङ कांग्रेसका स्थायी अन्तरघातीहरूले यसरी नाश गरे राप्ती गाउँपालिका

मसुरिया । दाङको राप्ती गाउँपालिकामा स्वतन्त्र उम्मेदवारका कारण नेपाली कांग्रेसकी अध्यक्षकी उम्मेदवार जगदम्बाकुमारी चौधरीलाई पराजित हुन पुगेकी तथ्य बाहिर आएको छ ।

मंगलबार निर्वाचन आयोगले सार्वजनिक गरेको औपचारिक तथ्याङ्कमा कांग्रेसकी जगदम्बाले ४ हजार १ सय ९९ मत पाएकी छिन् ।

कांग्रेसबाट विद्रोह (बागी) गरेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका बुद्धिप्रकाश चौधरीले ३ हजार १ सय ८६ मत पाएका छन् ।
जगदम्बा र बुद्धिप्रकाशको मत जोड्ने होभने ७ हजार ३ सय ८५ हुन्छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार प्रकाश विष्टले जम्मा ६ हजार ८ सय ९८ मत पाएका छन् ।

जगदम्बा तथा बुद्धिप्रकाशले पाएको मत र अध्यक्षमा जितेका माओवादीका विष्टको मतको अन्तर ४९० रहेको छ । राप्ती गाउँपालिकामा कांग्रेस कमजोर थिएन र छैन भन्ने कुरा यो तथ्याङ्कले पनि देखाएको छ ।

दाङ कांग्रेसको नेतृत्व र संसदीय समितिले आफ्ना नेतालाई टिकट दिने बहानामा लोकप्रिय नेतालाई पछाडि पार्दा यो हबिगती आएको छ । दाङ कांग्रेसका ठूला नेताहरूको शिकार राप्तीका नेताहरू हुन पुगे ।

तैपनि राप्तीका नेताहरू चुप नबसेर कांग्रेस जिताउन लाग्नुपर्ने थियो । उनीहरू घरबाट बाहिर आएनन् ।

केही नेताहरूले एमाले र माओवादीसँग पैसा खाएको आरोप र चर्चा पनि बाहिर आएका छन् ।

कांग्रेस राप्तीमा हारेको छ । यसको नोक्सानी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि पर्न सक्छ ।

अध्यक्षमा पराजित भए पनि राप्तीमा जगदम्बा नेता भएर उदाएकी छिन् । थारु समुदायकी महिला नेतृ जगदम्बाको एक्लो प्रयासले कम्युनिस्टसँग लडेर ४ हजार १ सय ९९ मत ल्याएकी छिन् ।

बुद्धिप्रकाशलाई अध्यक्षमा टिकट दिने सहमति ५ वर्ष अगाडिको थियो । बुद्धिप्रकाशलाई टिकट दिने तयारी पनि थियो ।

दाङ कांग्रेसभित्रको स्थायी अन्तरघाती समूहले बुद्धिप्रकाशको टिकट काट्न बाध्य बनाएको एक नेताले बताएका छन् । फलस्वरुप जुनियर नेतालाई टिकट दिइएको थियो ।

त्यसपछि बुद्धिप्रकाशले कांग्रेसमा विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हुन् । बसाल्ने प्रयास भए पनि उनले मानेनन् ।

बुद्धिप्रकाश शहीद श्रीनारायण चौधरीका छोरा हुन् । स्व.श्रीनारायणको नामलाई बुद्धिप्रकाशले अन्तिम समयमा सदुपयोग गर्न सकेनन् ।

कांग्रेस हराउने अन्तरघातीका रुपमा बुद्धिप्रकाशको नाम कांग्रेसको निर्णयपुस्तिकामा सधैँका लागि रहनेछ ।

यसैबीच, राप्तीको अध्यक्षमा एमालेका जगतप्रसाद पोखरेलले ५ हजार ७ सय मत पाएका छन् । मंगोल नेशनल अगैनाइजेसनका शोभाराम बुढाले १९९ मत पाएका छन् ।

जनता समाजवादी पार्टी नेपालका टोपबहादुर कार्कीले १६५ र स्वतन्त्र रमेश चौधरीले ३० मत पाएका छन् । अघिल्लो पटक कांग्रेसले जितेको राप्तीलाई माओवादीले लगेको छ ।

Published : Tuesday, 2022 May 17, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया