मोहन बस्नेतले एमालेसँग बाह्रबिसे खोसे, ५ वर्षपछि कांग्रेसले लियो बदला

बाह्रबिसे । नेपाली कांग्रेसले सिन्धुपाल्चोक जिल्लास्थित बाह्रबिसे नगरपालिकामा फराकिलो मतअन्तरले जितेर एमालेसँग बदला लिएको छ ।

कांग्रेसबाट मेयरका उम्मेदवार बालकृष्ण बस्नेतले एमालेका निमफुञ्जो शेर्पालाई २ हजार २ सय ९५ मतको फराकिलो अन्तरले हराइदिएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा बाह्रबिसेमा शेर्पा २११ मतको झिनो मतको अन्तरमा विजयी भएका थिए । मेयरमा त्यस बेला जितेपछि शेर्पामा निकै अहँकार पलाएको थियो । कांग्रेसका नेता र बाह्रबिसेका जनतालाई मुख छाडेर गालीगलौज गर्ने गरेको आरोप छ ।

कांग्रेसका बस्नेतले ७ हजार ७२८ मत ल्याएर जित हासिल गरेको सिन्धुपाल्चोक कांग्रेसका सभापति जंगबहादुर तामाङले जानकारी दिएका छन् ।

एमालेका शेर्पाले ५ हजार ४३३ मत ल्याएका छन् ।

उप–मेयरमा कांग्रेसकी मञ्जु तामाङले ६ हजार ९७७ मत ल्याएर विजयी भएकी छिन् ।

मञ्जुसँग एमालेकी सुशीला पाख्रिन पराजित भएकी छिन् । सुशीलाले ५ हजार ९९० मत ल्याएकी छिन् ।

मञ्जु र सुशीलाबीच उप–मेयरमा ९ सय ८७ मतको अन्तर रहेको छ ।

बाह्रबिसे नगरपालिकामा मेयरमा जितेपछि सिन्को पनि भाँच्न नसकेका शेर्पालाई एमालेले टिकट दिएपछि मतदाताहरूले हराएर दण्ड दिएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री मोहनबहादुर बस्नेतको गृहनगरपालिका बाह्रबिसेलाई एमालेसँग खोसेर आफ्नो पोल्टामा ल्याएको छ । नेता बस्नेतले बाह्रबिसेमा कांग्रेसका उम्मेदवारहरू विजयी भएकोमा शुभकामना दिएका छन् ।

मेयर र उप–मेयरसहित कांग्रेसले बाह्रबिसेमा ५ वटा वडामा कब्जा जमाएको छ ।

एमाले बाह्रबिसेमा जम्मा दुई वटा वडामा खुम्चिन बाध्य भएको छ ।

बाह्रबिसे नगरपालिकाको वडा नं.१ मा आङ दोर्जे शेर्पा, २ मा रेशम तामाङ, ३ मा जीवन भण्डारी, ४ मा शेखरबहादुर भण्डारी र ५ मा श्यामबहादुर तामाङ निर्वाचित भएका छन् ।

Published : Tuesday, 2022 May 17, 1:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया