काठमाडौंकै नगरपालिकामा कांग्रेसले एमालेलाई सोत्तर बनायो, २ सदस्य मात्रै निर्वाचित

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ ।

कीर्तिपुरमा कांग्रेसका राजकुमार नकर्मी मेयरमा निर्वाचित भएका छन् । नकर्मीले आफ्ना प्रतिद्वन्द्वीलाई ३५ सय ३६ मतअन्तरले पारित गरेका हुन् ।

कीर्तिपुरमा कांग्रेसले पहिलो पटक कम्युनिस्टलाई हराएर जित हासिल गरेको हो । काठमाडौं महानगरपालिका गुमाउदै गरेको कांग्रेसले कीर्तिपुरमा एमालेको दुई जना सदस्य रहने गरी जित हासिल गरेको छ ।

नकर्मीले ९ हजार ४३ मत ल्याएर विजयी भएका हुन् । नकर्मीले प्रतिद्वन्द्वी एमालेका केशरत्न बज्राचार्यलाई हराएका छन् । बज्राचार्यले ५५ सय ७ मत ल्याएका थिए ।

उप–मेयरमा कांग्रेसकी शुभलक्ष्मी शाक्य निर्वाचित भएकी छिन् । शाक्यले ८६ सय ६५ मत प्राप्त गरेकी छिन् ।

शाक्यसँग एमालेकी विन्दु महर्जन पराजित भएकी छिन् । महर्जनले ७२ सय ६ मत प्राप्त गरेकी छिन् ।

उप–मेयरमा विजयी भएकी शाक्य जनता समाजवादी पार्टीकी नेतृ रहेको दाबी गरिएको छ ।

शाक्यले कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धा गरेको बताइएको छ ।

माओवादी केन्द्रले मेयरमा शिवशंकर महर्जनलाई उम्मेदवार बनाएको थियो । महर्जनले ४ हजार ९० मत पाएका छन् ।

एकीकृत समाजवादीले मेयरमा बटुकृष्ण थापालाई उम्मेदवार बनाएको छ । थापाले १ हजार १ सय ५३ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरमा १० वटा वडा छन् । त्यसमध्ये कांग्रेसले ९ वडामा वडाध्यक्ष जितेको छ । कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् ।

वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार दिनेशचन्द्र दाहाल निर्वाचित भएका छन् । एमालेबाट २ जना महिला सदस्य मात्रै निर्वाचत भएका छन् ।

वडा नम्बर ८ मा सरस्वती परियार निर्विरोध निर्वाचित भएकी छिन् । वडा नम्बर २ मा सुष्मा विश्वकर्मा सदस्यमा विजयी भएकी छिन् ।

Published : Monday, 2022 May 16, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया