प्यूठानमा गठबन्धनले वामदेवका पूर्व पिएलाई हराइदियो, सभापति राणाले दिए बधाई

प्यूठान । प्यूठान जिल्लाको सदरमुकाम रहेको प्यूठान नगरपालिकामा गठबन्धन विजयी भएको छ ।

मेयरमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका विष्णु योगी विजयी भएको नेपाली कांग्रेस प्यूठानका क्षेत्रीय सभापति रोज राणाले जानकारी दिएका छन् ।

उप–मेयरमा कांग्रेसका देवेन्द्र बर्मा विजयी भएका छन् । बर्माले निकटतम प्रतिद्वन्द्वी एमालेकी पवित्रा जिसीलाई पराजित गरेका हुन् ।

मेयरमा विजयी भएका योगीले एमालेका प्यूठान जिल्लाका अध्यक्ष समेत रहेका विजयविराट विष्टलाई पराजित गरेका हुन् ।

मेयरमा पराजित भएका विष्ट पूर्वउप–प्रधानमन्त्री वामदेव गौतमका तत्कालीन स्वकीय सचिव हुन् ।

गौतमले एमाले छाडे पनि उनका तत्कालीन स्वकीय सचिव विष्ट एमालेमै बसेका थिए ।

प्यूठान नगरपालिकामा १० वटा वडा छन् । १० वटा वडामा कांग्रेस एक्लैले गठबन्धनका तर्फबाट ४ वटा वडामा जित हासिल गरेको छ ।

वडा नं. १ मा साधना राउत, २ मा मोहनसिंह विष्ट, ६ मा एनबी मगर र ७ मा नेत्र केसी विजयी भएका छन् ।

उता, प्यूठान जिल्लाकै माण्डबी गाउँपालिकामा गठबन्धनले एमालेको अहँकार भत्किने गरेर अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ ।

अध्यक्षमा माओवादीका रोशन अधिकारी र उपाध्यक्ष कांग्रेसका पूर्ण कालाथोकी विजयी भएका छन् ।

अध्यक्षमा अधिकारीले एमालेका श्रीधर रोकालाई हराएका हुन् ।

यसैबीच, कांग्रेसका क्षेत्रीय सभापति राणाले प्यूठान नगरपालिकासहित विभिन्न पालिका र वडाहरूमा विजयी भएका कांग्रेस र गठबन्धनका उम्मेदवारहरूलाई बधाई दिएका छन् ।

उनले भने, ‘हामीले गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गरेका कारण अधिकतम राम्रो नतिजा ल्याउने प्रयास गरेका छौँ । एक्लै प्रतिस्पर्धा गरेको भए कांग्रेस धेरै ठाउँमा पराजित हुन सक्थ्यो ।’

सभापति राणाले मतदाता र शुभेच्छुकहरूलाई पनि धन्यावाद दिएका छन् ।

Published : Monday, 2022 May 16, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया