मतदानको एकहप्ता अगाडि बाह्रबिसेमा एमालेभित्र पहिरो गयो, कांग्रेसमा खुसीयाली

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा निर्वाचनको मुखमा एमालेभित्र पहिरो गएको छ ।

बिहीबार साँझ बाह्रबिसे नगरपालिका–५ मा एमालेबाट निर्वाचित वर्तमान वडाध्यक्ष बेलबहादुर रोक्कासहितका प्रभावशाली स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेको नगर कमिटी सदस्य गोपाल बस्नेत, पूर्व गाविस अध्यक्ष शंखजित तामाङसहितका झण्डै दुईसय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका स्थानीय नेता कार्यकर्ता पनि छन् ।

नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वाग गरेका हुन् । नेता बस्नेतले चुनावको मुखमा एमाले र माओवादीका नेता कार्यकर्ताहरूलाई कांग्रेसमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताएका छन् ।

झुठको खेती गर्दै आएका एमाले र माओवादीहरूको चर्तिकला बुझेपछि स्थानीय नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा बागमती प्रदेशका सह–महामन्त्री हरिशरण श्रेष्ठ, सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महाधिवेशन प्रतिनिधि विष्णुबहादुर खत्री लगायतका नेताहरू कार्यकर्ताको उपस्थिति रहेको थियो ।

बाह्रबिसे नगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा निमफूंजो शेर्पाले जितेका थिए ।

शेर्पाले नेता कार्यकर्ता र स्थानीय जनतालाई सधैँ दुःख दिएपछि आफूहरू एमाले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेको वडाध्यक्ष रोक्काले बताएका छन् ।

वडा नम्बर ५ एमालेका नेता शेर्पाको आफ्नै वडा पर्छ । एमालेका लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश गरेपछि शेर्पालाई तनाब भएको छ ।

Published : Friday, 2022 May 6, 11:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया