कांग्रेस कमजोर भएर होइन, ओलीको अधिनायकवाद रोक्न गठबन्धन गरेको हो : विश्वप्रकाश शर्मा

तिलोत्तमा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहमा पाँच दलबीच भएको तालमेललाई इमानपूर्वक पालना गर्न आग्रह गरेका छन् ।

बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कांग्रेस र माआवादी केन्द्रको गठबन्धनको नगरस्तरीय संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेस कमजोर भएर गठबन्धन नगरेको बताए ।

उनले संविधान रक्षाको लागि गठबन्धन भएकोले तालमेलबाट उम्मेदवार बनेका सबैलाई मतदान गर्न आग्रह गरेका छन् ।

महामन्त्री शर्माले आ–आफ्नो दलको प्रचारमा हिँडेका कार्यकर्ताले अन्य दलमा मतदान गर्न मनले नमाने पनि एक दिन चित्त बुझाएर तालमेल गरेका उम्मेदवारलाईं जिताउन आग्रह गरेका छन् ।

‘नेपाली कांग्रेसको प्रचारमा हिँडेका कार्यकर्तालाई माओवादीलाई भोट माग्दा अप्ठेरो महसुस हुन्छ’, शर्माले भने, ‘संविधानको रक्षाको लागि एकदिन मन थामेर तालमेलका उम्मेदवारलाई मतदान गर्नुहोस् ।’

उनले तालमेल भनेको विविधतामा एकता रहेको उल्लेख गर्दै जीवन विविधताकै कारणले चल्ने बताए ।

‘जीवन भनेको विविधताकै कारणले चल्छ, चिन्दै नचिनेकोसँग बिहे भएर जीवन बित्छ, यहाँ त सँगै सहकार्य गर्ने साथीलाई मतदान गर्ने कुरा छ, ढुक्कले गर्नुहोस्’, महामन्त्री शर्माले भनेका छन् ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले कांग्रेसको घोषणा पत्रको धज्जी उडाएको बताउँदै शर्माले अहिलेको समयमा कांग्रेस र एमालेको दुवैको घोषणापत्र पढेर विवेक पुर्‍याएर मतदान गर्न आग्रह गरेका छन् ।

‘केपी ओलीले कांग्रेसको घोषणापत्रको धज्जी उडाउनुभयो’, उनले भने, ‘एमालेको घोषणापत्रमा भ्यु टावर छ, हाम्रोमा जनता । युवा पुस्ताले भ्यु टावर हेर्ने हो वा जनताका मन बुझ्ने कार्यक्रम राख्ने हो । सबैले पढ्नुस् र विवेक पुर्‍याउनुहोस् ।’

उनले ओलीको अधिनायकवाद रोक्नका लागि पनि गठबन्धन अनिर्वाय रहेको बताए ।

कार्यक्रममा मेयरका उम्मेदवार एवम् रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका छन् ।

उनले रुपन्देहीका सबै पालिकामा कांग्रेसको पक्षमा लहर आएको भन्दै उम्मेदवारहरूलाई जितका लागि तयारी अवस्थामा रहन आग्रह गरेका छन् ।

Published : Thursday, 2022 May 5, 10:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया