बागीका ‘झोले’हरूलाई पनि कांग्रेसले ठेगान लगायो

काठमाडौं । नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध बागी बनेर स्वतन्त्र उम्मेदवारी दिएकाहरूका समर्थक र प्रस्तावकलाई पनि कारबाही गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेसले पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका तथा उनीहरूका प्रस्तावक र समर्थकहरू पार्टीबाट स्वतः निस्कासन गरिएको जनाएको छ ।

विद्रोहीहरूका समर्थक र प्रस्तावकको पार्टी सदस्यता विधानबमोजिम समाप्त भई स्वतः निस्कासन भएको कांग्रेसले उल्लेख गरेको छ ।

विद्रोही उम्मेदवार, उनीहरूका प्रस्तावक र समर्थकहरूको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरूको अन्तिम नामावलीहरूको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपीसहित तत्काल केन्द्रमा पठाउन जिल्ला कार्यसमितिहरूलाई केन्द्रले निर्देशन दिएको छ ।

विद्रोही उम्मेदवारहरूले आफ्नो उम्मेदवारीप्रति पुनर्विचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निस्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन कांग्रेसले अनुरोध गरेको छ ।

Published : Thursday, 2022 May 5, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया