एमाले नेता गोकर्ण विष्टको क्षेत्रमा प्रहरीद्वारा एक ट्रक खाद्यान्न जफत

इस्मा । गुल्मी जिल्लाको इस्मा गाउँपालिकामा प्रहरीले एक ट्रक चामल, दालसहितको खाद्यान्न बरामद गरेको छ ।

ईस्मा गाउँपालिकाको अम्मपुर, अर्चले भन्ने स्थानमा खाद्यान्नले भरिएको ट्रक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी प्रमुख एसपी भीम दाहालले जानकारी दिए । उनले भने, ‘खाद्यान्नले भरिएको ट्रक पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा छ । कसको हो भन्ने खुलेको छैन ।’

एसपी दाहालले एउटा घर नजिकै ट्रकलाई फेला पारेका बताउँदै सो घरका धनीले खाद्यान्न र ट्रक अस्वीकार गरेको बताए । ठेकेदारले ल्याएको भनेर पनि कुरा आएको एसपी दाहालले बताए ।

यद्यपि, नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ ले एमालेले मतदाताहरूलाई प्रभावमा पार्न ट्रकमा खाद्यान्न ल्याएको दाबी गरेको छ ।

क्षेत्र नं. २ का क्षेत्रीय सभापति चन्द्रबहादुर महतले एमालेले मतदाताहरूलाई वितरण गर्न चामल, दाहाल, तेल, नुन, भुजासहितका खाद्यान्न ल्याएको आरोप लगाए ।

इस्मा गाउँपालिकाको अध्यक्षमा एमालेबाट हीरा एसले उम्मेदवारी दिएका छन् ।

पूर्वमन्त्री एवम् एमालेका नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा पर्ने यो गाउँपालिकामा खाद्यान्न वितरण गर्न एमालेले ल्याएको भनेर होहल्ला भएपछि प्रहरीले ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

एमालेका नेताहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूसँग सम्पर्क हुन सकेन । यस विषयमा एमालेले औपचारिक रुपमा केही भनेको छैन ।

Published : Thursday, 2022 May 5, 8:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया