कांग्रेस हराउने पार्टीभित्रकै तत्वबारे डा.आरजु राणाद्वारा नयाँ खुलासा, अन्तरघातीलाई तनाब

अमरगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वसांसद डा.आरजु राणाले कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरेर विजयी बनाउन अपील गरेकी छिन् ।

डडेल्धुराको अमरगढीमा बुधबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका उम्मेदवारहरू निष्ठावान रहेको बताइन् ।

‘उहाँहरूलाई मतदान गरेर जिताउनुपर्छ । नक्कली कांग्रेस नक्कली नै हुन्छ’, उनले भनेकी छिन्, ‘करुवामा भोट नदिनु होला । उनीहरू नक्कली कांग्रेस हुन् ।’

विगतमा अमरगढी नगरपालिकामा एमालेले जितेको बताएकी नेतृ डा.राणाले भनिन्, ‘पाँच वर्ष अगाडि जस्तो थियो । आज पनि त्यस्तै छ । एमालेले जितेको थियो । केपी ओली प्रधानमन्त्री थिए । झापामा एक अर्बको भ्युटावर बनाएका छन् । आफ्नै सरकार हुँदा पनि एमालेको मेयरले बजेट ल्याउन सकेनन् ।’

नेतृ डा.राणाले डडेल्धुरामा अहिलेको प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ अर्बको बजेटमा राखेको बताएकी छिन् ।

प्रधानमन्त्री देउवालाई राष्ट्रघाती भनेर दिएका टिकाटिप्पणीप्रति नेतृ डा.राणाले असन्तुष्टि जनाएकी छिन् । ‘देशको अर्थतन्त्र बचाएको व्यक्ति छ, अधिनायकवादबाट बचाएको व्यक्तिलाई राष्ट्रघाती भन्छन्’, उनले भनिन्, ‘हिजोका दिनमा चप्पल लगाउनेहरू कहाँदेखि कहाँ पुगे । शेरबहादुर देउवा उही दौरा सुरुवा र टोपी लगाएर बस्नुभएको छ । उहाँ साधारण व्यक्ति हो ।’

‘डडेल्धुरामा मेरो गृहजिल्ला पनि हो । म आउँदा डिस्ट्रब गर्ने समूह पनि आउँछन् । केही तत्व छन् जो कांग्रेस हराउन लाग्छन्’, डा.राणाले भनेकी छिन्, ‘कांग्रेस हराउने तत्वहरू ‘करुवा’मा गएका छन् । ती व्यक्तिहरू हामीविरुद्ध षड्यन्त्रकारी भूमिका खेल्नेहरू हुन् ।’

‘पाँच वर्ष अगाडि हामी हारेका हौँ । षड्यन्त्र गर्नेहरू अहिले ‘करुवा’मा गएका छन् । तैपनि प्रदेशमा जिताएका थियौं । कांग्रेसमा व्यक्ति गौण हो । रुख चिन्ह हाम्रो हो’, उनले भनेकी छिन् ।

‘स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई हराइयो । कुकुरको पुच्छर १२ वर्षसम्म ढुंग्रोमा हाल्दा पनि बाङ्गो हुन्छ’, उनले भनेकी छिन्, ‘निजी स्वार्थका लागि मेरो बारेमा के–के भन्छन्, सबै थाहा छ । समाज र देश भाँड्नेलाई राजनीतिबाट बाहिर धकेल्नुपर्छ ।’

कांग्रेस नेतृ एवम् प्रधानमन्त्री देउवाकी पत्नी डा.राणा कांग्रेस र गठबन्धनका उम्मेदवारहरूको पक्षमा मत माग्न चुनावी कार्यक्रमहरूमा छिन् ।

Published : Thursday, 2022 May 5, 5:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया