कांग्रेसको प्रतिस्पर्धी प्रचण्ड होइन, केपी ओली प्रवृत्तिको एमाले हो, गठबन्धनको कुरा बुझ्नुस् : रामचन्द्र पौडेल

भरतपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ५ दलीय गठबन्धन आवश्यक्ताका आधारमा बनाइएको भन्दै गठबन्धनका कारण मुख्यमन्त्री र मन्त्रीहरू बन्न पाएको बताएका छन् ।

भरतपुरमा बिहीबार आयोजित बृहत सभालाई सम्बोधन गर्दै नेता पौडेलले गठबन्धनकै कारण राष्ट्रिय सभामा जितेको बताए ।

नेता पौडेलले आफूले भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलसँग कुरा गरेको बताए । ‘भीमबहादुर श्रेष्ठ, जगन्नाथ पौडेल, हेमबहादुरजी उहाँहरूलाई म बसेको ठाउँमा बोलाएर कुरा राखे’, पौडेलले भने, ‘उहाँहरूले धैर्यता राख्नुभएन । चाँढो उठेर जान खोज्नुभयो ।’

‘उहाँहरू उत्तेजना, भावबेसमा मात्रै अहिले असन्तुष्टि देखाएर उत्तेजित भएको जस्तो लाग्यो’, पौडेलले भने, ‘नेपाली कांग्रेसको प्रतिस्पर्धा माओवादी, प्रचण्ड होइन, कांग्रेसको प्रतिस्पर्धा केपी ओलीको प्रवृत्ति एमालेसँग छ ।’

‘शान्ति सम्झौता हुँदा गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो ‘नन डेमोक्रेटिकलाई डेमोक्रेटिक बनाए’ भन्नुभएको थियो’, उनले भने, ‘यो गठबन्धन शेरबहादुर देउवासँग मिल्न गइस् भन्नु हुन्छ । शेरबहादुरले भन्दा पहिला नै हो यो गठबन्धन गर्नुपर्छ भनेर मैले नै हो भनेको ।’

‘केपी ओलीले जनताले दिएको जनमतलाई आफ्नो हातमा लिएर तानाशाह बन्न खोज्दा गठबन्धन भनेको हो’, उनले भनेका छन् ।

‘जनताबाट चुनिएर गएकै नेताबाट लोकतन्त्रलाई खतरा छभन्ने कुरा केपी ओलीबाट भएको थियो’, पौडेलले भने, ‘विकास, राजनीतिक अस्थिरताका लागि केपी ओली कतैबाट नायक बनेका छन् ।’

उनले भने, ‘लोकतन्त्रका लागि केपी ओली प्रवृत्ति खतरा हो । केपी ओली प्रवृत्तिको एमाले कांग्रेसको प्रतिस्पर्धी हो ।’ नेता पौडेलले कांग्रेसको प्रतिस्पर्धा प्रचण्डसँग नरहेको बताए ।

‘गठबन्धन नभएको भए बलराम पौडेल कसरी मन्त्री बन्थे ? गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली पोखरेल कसरी मुख्यमन्त्री बन्थे ? राष्ट्रिय सभामा तीन जना सदस्य जितेका छौँ’, नेता पौडेलले भनेका छन् ।

Published : Thursday, 2022 May 5, 4:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया