आले–न्यौपाने–अधिकारीले जनतालाई भैरहवामा १४ अर्ब ऋण बोकाउँदै, अर्थमन्त्रीले हप्काएर पठाए

काठमाडौं । भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयर लाईन्सको वाइड बडी जहाज अड्किएको घटनाले तरंग ल्याएका बेला १४ अर्बको खेल हुन लागेको छ ।

भैरहवाको विमानस्थल राष्ट्रिय गौरवको आयोजनामा पर्छ । आयोजनाको प्रमुख प्रदीप अधिकारी थिए । अधिकारी अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक छन् ।

अधिकारी आफै प्रमुख रहेको आयोजनाको रनवेमा टर्निङ नै नपुगेपछि डिजाइनमा कति लापरबाही भएको रहेछ भन्ने कुराको पुष्टि भएको छ । यस्तो लापरबाही गर्ने अधिकारीलाई कारबाही भएको छैन । बरु शक्तिकेन्द्र धाएर अधिकारीले प्राधिकरणको महानिर्देशक पद हत्याएका छन् । आफूभन्दा सिनियर उच्च कर्मचारीहरूलाई चक्मा दिएर अधिकारी महानिर्देशक बनेर बसेका छन् ।

वाइड बडी जहाज झण्डै ४५ मिनटसम्म रनवेमा अड्किएको थियो । विमानस्थलको यो अवस्था छ । विदेशीसँग महँगो व्याजमा ऋण लिएर बनाएको भैरहवा विमानस्थलका आर्थिक अनियमितताका धेरै कथाहरू छन् । ती कथामा अधिकारीको नाम जोडिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने र प्राधिकरणका महानिर्देशक अधिकारीले भैरहवा विमानस्थल सञ्चालनमा नआउँदै १४ अर्ब रुपियाँमा ‘टर्मिनल टू’ बिल्डिङ बनाउन लागेका छन् । महँगो व्याजको ऋणमा टर्मिनल टू बिल्डिङ बनाउन दवावहरू सिर्जना गरेको उच्च स्रोतले जनाएको छ ।

भैरहवा विमानस्थलमा एउटा टर्मिनल बिल्डिङ छ । सञ्चालनमै नआएको विमानस्थलमा अर्को बिल्डिङ किन चाहियो भनेर अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयकै कर्मचारीहरूले प्रश्न गरेका छन् ।

टर्मिनल टू बिल्डिङ बनाउन एडीबीसँग १४ अर्ब ऋण लिन खोजिएको छ । एडीबीले नेपाल सरकारलाई २ प्रतिशत व्याजमा ऋण दिन्छ । नेपाल सरकारले त्यो पैसा प्राधिकरणलाई साढे ५ प्रतिशत व्याजमा ऋण दिन्छ ।

मन्त्री आले, सचिव न्यौपाने र महानिर्देशक अधिकारीले भैरहवा विमानस्थलमा टर्मिनल टू बिल्डिङ बनाउने योजना ल्याएर आफू निकटका ठेकेदारहरूलाई काम दिने तयारी गरेको स्रोतको दाबी छ ।

मन्त्री आलेले अर्थमन्त्री जनार्दन शर्मासँग भैरहवामा बिल्डिङ बनाउन १४ अर्ब रुपियाँ मागेका थिए ।

अर्थमन्त्री शर्माले भैरहवा विमानस्थल पहिला चलाउन सुझाव दिएका छन् । ‘पहिला भैरहवा विमानस्थल चलाउनुस् । विमानस्थल चल्यो र बिल्डिङ पुगेन भने मात्रै अर्को बिल्डिङ बनाउन बजेट दिन्छु’, अर्थमन्त्री शर्माको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘अर्थमन्त्री ज्यूले पर्यटनमन्त्री, सचिव र महानिर्देशकलाई हप्काएर पठाउनु भएको छ ।’

अर्थ मन्त्रालयका एकजना उच्च कर्मचारीका अनुसार अर्थमन्त्री शर्मा भैरहवा विमानस्थलमा भएको खर्च र कामबाट सन्तुष्ट छैनन् ।

भैरहवा विमानस्थल सञ्चालन नहुँदै मन्त्री आले, सचिव न्यौपाने र महानिर्देशक अधिकारीले किन अर्को टर्मिनल टू बिल्डिङ बनाउन खोजेका हुन् रहस्यको विषय बनेको छ ।

नेपाल सरकारलाई प्राधिकरणले ५० अर्बभन्दा धेरै ऋण तिर्न बाँकी छ । स्वार्थका लागि मन्त्री, सचिव र महानिर्देशकले भैरहवामा १४ अर्ब फसाउन खाजेका छन् ।

अर्थ सचिवले समेत भैरहवामा अनावश्यक टर्मिनल टू बिल्डिङको बहानामा १४ अर्ब रुपियाँ खर्च गर्न आवश्यक नरहेको भन्दै महानिर्देशक अधिकारीलाई हप्ताएको स्रोतले जनाएको छ । यो विषयमा पर्यटन मन्त्रालय र प्राधिकरणका जिम्मेवारी व्यक्तिहरू बोल्न मानेनन् ।

Published : Thursday, 2022 May 5, 10:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया