देउवा, खाण, झाक्री र श्रेष्ठलाई रोक्ने प्रयास असफल, भरतपुरमा देउवा–गगनसहितका शीर्ष नेता

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी कार्यक्रममा जान निर्वाचन आयोगले अनुमति दिएको छ ।

आयोगले देउवालाई कांग्रेस सभापतिको हैसियतमा चुनावी कार्यक्रममा जान अनुमति दिएको हो ।

आयोगले प्रधानमन्त्री देउवालाई दलको पदाधिकारीको हैसियतमा चुनावी कार्यक्रममा सहभागी हुन अनुमति दिएको जनाएको छ ।

संसदीय व्यवस्थामा एउटै व्यक्ति पार्टीको पदाधिकारी र अन्य सार्वजनिक पदमा बहाल रहनेभन्दै आयोगले देउवालाई चुनावी कार्यक्रममा जान दिएको उल्लेख गरेको छ ।

निजी स्रोत साधनको प्रयोग गरेर आफ्नो दलको चुनावी कार्यक्रममा जानका लागि आयोगले बाटो खोलेको जनाइएको छ ।

प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाण, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम तथा रोजगारमन्त्री किसानकुमार श्रेष्ठलाई निजी स्रोतको प्रयोग गरी चुनावी कार्यक्रममा सहभागी हुन आयोगले अनुमति दिएको छ ।

एउटा समूहले प्रधानमन्त्री देउवासहितका नेताहरूलाई चुनावी कार्यक्रममा जान नदिन ठूलो हर्कत गरिरहेका बेला आयोगले कुनै रोकतोक नरहेको जनाएको छ ।

यसैबीच, चितवनको भरतपुरमा आज (बिहीबार) पाँचदलीय गठबन्धनको आमसभा हुन लागेको छ ।

सभापतिलाई प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले सम्बोधन गर्नेछन् । देउवा बुधबार साँझ चितवन आइपुगेका छन् ।

भरतपुरको केन्द्रीय बस टर्मिनलमा चुनावी सभा हुनेछ । सभालाई देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकम्ल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेसक वरिष्ठ नेता रामचन्द्र पौडेल, कांग्रेस महामन्त्री गगन थापा, शेखर कोइरालालगायतका नेताहरूले सम्बोधन गर्नेछन् ।

भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले माओवादी केन्द्रकी रेनु दाहाललाई पुनः मेयरमा उठाएको छ ।

उप–मेयरमा कांग्रेसका नेता चित्रसेन अधिकारी उम्मेदवार छन् ।

टिकट नपाएपछि कांग्रेसका नेता जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर बागी बनेका छन् ।

Published : Thursday, 2022 May 5, 8:07 am

फेसबुकबाट तपाईको प्रतिक्रिया