एमालेलाई लखेटेको ठाउँमा कांग्रेसका उम्मेदवार जनताको साथी बनेर पुगे, नगरमा भव्य स्वागत

बुटवल । ज्योतिनगरका पहिरोपीडित जनताले बुटवल उप–महानगरपालिकाले आफूहरूको समस्या समाधानमा चासो नदेखाएको बताएका छन् ।

पाँच दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेसँगको भेटघाटमा ज्योतिनगरका बासिन्दाले उप–महानगरपालिकाका जनप्रतिनिधिले कुनै वास्ता नगरेको बताएका हुन् ।

स्थानीय कृष्णकुमारी श्रेष्ठले ज्योतिनगर पहिरोको स्थायी समाधानको खोजी गर्नका लागि अगुवाई गर्न आग्रह गरेकी छिन् ।

उनले एमालेका नेताहरूले पटक–पटक समस्या समाधान गरिदिने आश्वासन दिलाएपनि कुनै काम नगरेको बताइन् ।

स्थानीय विनोद खनालले बुटवलमा एमालेले सपनामात्रै बाँडेको र प्रचारमुखी काम गरेको भन्दै एमालेलाई यसपटक हराउनुपर्ने बताए ।

स्थानीय मञ्जु भण्डारीले धेरै वर्षदेखि अरु पार्टीलाई भोट दिएपनि यसपटक भने कांग्रेसलाई भोट दिने बताइन् । उनले पहिरोका कारण भोगेको समस्या समाधानमा बुटवल उप–महानगरले कुनै चासो नदेखाएको र एमालेले पनि आश्वासन मात्रै बाँडेकाले यसपटक कांग्रेसलाई भोट दिने बताइन् ।

उनीहरूका समस्या सुनिसकेपछि उम्मेदवार खेलराज पाण्डेले गृहमन्त्री बालकृष्ण खाणसहितको टोलीले अवलोकन गरेपश्चात् विज्ञहरूको टोलीले उपयुक्त समाधानको खोजी गरिरहेको बताए ।

पाण्डेले बुटवल उप–महानगरपालिकामा कांग्रेसले चुनाव जितिसकेपछि स्थायी समाधान खोजेर समस्या समाधान गर्ने बताए । उनले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रलाई जोखिममुक्त गर्ने प्रतिबद्धता जनाए ।

गठबन्धनबाट उपप्रमुखका उम्मेदवार चिनबहादुर गुरुडले यसपटक गठबन्धनलाई जिताउन आह्वान गरेका छन् ।

मुलुक र संविधानको रक्षाका लागि बनेको गठबन्धनलाई जिताउन उनले आमजनतालाई आग्रह गरेका थिए ।

सो क्षेत्रका एमालेमा असन्तुष्ट व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

ज्योतिनगरको पहिरोमा परेका पीडितको मागको सुनुवाई नगरेको भन्दै एमालेका नेता समेत रहेका मेयर शिवराज सुवेदीलाई स्थानीयले कुटपिट गरेर लखेटेका थिए ।

Published : Monday, 2022 May 2, 1:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया