एमालेका पावरफुल नेतालाई कालोमोसो दल्ने प्रयास, महासेठविरुद्ध नारावाजी

जनकपुर । एमालेका सचिव रघुवीर महासेठविरुद्ध आफ्नै पार्टीका नेता कार्यकर्ताले नारावाजी गरेर विरोध जनाएका छन् ।

आइतबार धनुषाको मिथिला नगरपालिका, लालगढस्थित एक होटेलमा आयोजित एमाले चुनाव परिचालन मूल कमिटीको बैठकमा एमालेका सचिव समेत रहेका पूर्वमन्त्री महासेठ पुगेपछि विवादले उग्ररुप लिएको हो ।

महासेठ पुगेपछि मिथिला नगरपालिकाका निवर्तमान मेयर हरिनारायण महतो पक्षका असन्तुष्ट कार्यकर्ताले नारावाजी गरेका थिए ।

महासेठलाई कालोमोसो दल्ने तयारीसमेत भइरहेको थियो । तत्काल पुगेको प्रहरीले महासेठलाई कालोमोसो दल्न दिएन ।

विवाद बढ्दै गएर हात हालाहालको अवस्थासम्म पुगेपछि बैठक स्थगित गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा अन्तिमसमयमा आएर निवर्तमान मेयर हरिनारायण महतोलाई टिकट नदिई अर्कैलाई दिएपछि एमालेभित्र असन्तुष्टि बढेको छ ।

निर्वाचन परिचालन समितिको बैठकमा पुरानै मितिमा माइन्यूट गर्न खोजेपछि विवाद भएको एमालेका मिथिला नगर कमिटी सदस्य कामेश्वर महतोले बताएका छन् ।

उनले चुनावको तयारीका लागि रामकुमार महतोको संयोजकत्वमा एमालेले मिथिला नगरपालिकामा ५०१ सदस्य चुनाव परिचालन मूल समिति गठन गरेको जानकारी दिएका छन् ।

एमाले नगर कमिटी र प्रदेशसभा क्षेत्रीय कमिटीले मेयर पदको उम्मेदवारका लागि हरिनारायणको एकल सिफारिस गरेको थियो ।

उनलाई पाखा लगाएर मनोनयन दर्ताको अन्तिम दिन नेपाली कांग्रेसबाट हालै एमालेमा आएका राजाराम महतोलाई उम्मेदवार बनाएपछि असन्तुष्टि बढेको छ ।

महतोलाई रघुवीर महासेठकै दबाबमा उम्मेदवार बनाइएको भन्दै स्थानीय एमालेका कार्यकर्ताहरू उनीविरुद्ध उग्र भएको बताइएको छ ।

Published : Sunday, 2022 May 1, 11:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया