स्वतन्त्र उम्मेदवारद्वारा कांग्रेसको चार तारे झण्डा अनधिकृत प्रयोग, यी चर्चित बागीलाई सुध्रिन चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले केही स्वतन्त्र उम्मेदवारहरूले अनाधिकृत रुपमा चार तारे झण्डा प्रयोग गरेको भन्दै चिन्ता जनाएको छ ।

कांग्रेसबाट बागी बनेर भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले चार तारे झण्डा अनधिकृत रुपमा प्रयोग गरेपछि चितवन कांग्रेसका सभापति राजेश्वर खनालले चिन्ता जनाएका हुन् ।

उनले बाटो नै फरक र चुनाव चिन्ह फरक लिएर गइसकेको अवस्थामा चार तारे झण्डा प्रयोग नगर्न आग्रह गरेका छन् । उनले चार तारे झण्डालाई कांग्रेस नेतृत्वको गठबन्धन बाहेकले प्रयोग गरेमा सैह्य नहुने चेतावनी दिएका छन् ।

सभापति खनालले स्वतन्त्र उम्मेदवारी दिएका पौडेलतर्फ संकेत गर्दै भनेका छन्, ‘५०/६० वर्षको राजनीतिक यात्रा धरापमा पारेर जानु भएको छ । अझै पनि उहाँले विचार गर्न सक्नु हुन्छ । कांग्रेसमा लगानी छ ।’

सभापति खनालले चितवनमा रहेका ७ वटा पालिका र ९८ वटा वडामा गठबन्धन बनाएको बताए ।

‘चितवनमा बनेको वातावरणले गठबन्धनका सबै उम्मेदवारहरू विजयी हुन्छन्’, उनले भने, ‘गठबन्धनको मोडेलअनुसार सबै उम्मेदवारहरूको जित सुनिश्चित छ ।’

साढे तीन वर्ष खड्गप्रसाद ओलीले निरंकुश तरिकाले सरकार चलाएको बताएका सभापति खनालले ओलीको अधिनायकवाद र संविधानको रक्षाका लागि गठबन्धन बनेको बताए ।

Published : Sunday, 2022 May 1, 10:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया