कांग्रेसलाई संकट परेपछि पर्खाल बनेर उभिए खाण, देउवाको भरोसा टुट्न नदिने

भरतपुर । भरतपुर महानरपालिको मेयरमा बागी उम्मेदवार उठेपछि कुरा मिलाउन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण भरतपुर आएका छन् ।

गृहमन्त्री खाण सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर भरतपुर महानगर कांग्रेसको कुरा मिलाउन बुधबार भरतपुर आएका हुन् ।

भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताएका छन् ।

‘मैले बागीलाई मिलाउन प्याकेज त ल्याएको छैन । तर, मन ल्याएर आएको छ’, खाणले भने, ‘म उहाँहरूलाई सम्झाउँछु । उहाँहरूले केन्द्रको निर्णय मान्नुहुन्छ ।’

माओवादी केन्द्रले भरतपुर महानगरको मेयरमा रेनु दाहाललाई उम्मेदवार बनाएको छ ।

कांग्रेसका नेता एवं पूर्वसांसद जगन्नाथ पौडलले बागी बनेर मेयरमा उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मंगलबार भरतपुर आएर राजनीतिक भेट गरी काठमाडौं फर्किएका छन् ।

दाहालले चितवन कांग्रेसका सभापति राजेश्वर खनाल र उप–मेयरका उम्मेदवार चित्रसेन अधिकारीलाई भेटेका थिए । प्रचण्डले भरतपुरको राजनीतिक अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएपछि खाण भरतपुर ओर्लिएका हुन् ।

कांग्रेसका सभापति खनाल र अधिकारीले बागी उम्मेदवार पौडेललाई भेटेका छन् ।

गृहमन्त्री एवम् कांग्रेस नेता खाणले भरतपुर कांग्रेसको उथलपुथललाई मेलमिलापका साथ मिलाउने तयारी गरेका छन् ।

खाण पार्टीभित्र विवाद आउँदा सभापति देउवाको पर्खाल बनेर अग्रपंक्तिमा उभिने गरेका छन् ।

Published : Wednesday, 2022 April 27, 6:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया