ठूला दलका कुन नेताका पत्नी–साली–छोराछोरी र आफन्तले कहाँ–कहाँ टिकट पाए ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेताहरूले आफ्ना पत्नी, छोरा, छोरी, ज्वाइँ, बुहारी र आफन्तलाई टिकट दिएका छन् ।

पार्टीमा काम गरेका नेता कार्यकर्तालाई टिकट नदिएर पहुँचको भरमा नेतृत्वले टिकट बाँडेपछि विद्रोह र असन्तुष्टि बढेको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरको टिकट दिएका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरको टिकट दिएका छन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले छोरा अमरेन्द्रकुमार यादवलाई विराटनगर महानगरपालिकाको उप–प्रमुखको टिकट दिएका छन् ।

टिकट पाएका सबैले मनोनयन दर्ता गराएका छन् । उनीहरूले आफन्त भएकै भरमा टिकट पाएका हुन् ।

मधेश प्रदेशका मुख्यमन्त्री एवम् जसपाका नेता लालबाबु राउतले पत्नी जलेखा खातुनलाई गाउँपालिकाको उपाध्यक्षको टिकट दिएका छन् । खातुनले पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको पदमा मनोनयन दिएकी छिन् ।

कांग्रेसको मधेस प्रदेशका सभापति कृष्ण यादवले सालोलाई मेयरको टिकट दिएका छन् । रौतहटको गरुडा नगरपालिकामा साला सुनिलकुमार यादवलाई मेयरको टिकट दिएका हुन् ।

नेकपा (एकीकृत समाजवादी) रौतहटका जिल्ला अध्यक्ष कमलराय यादवले छोरा रामकल्याण यादवलाई मेयरको टिकट दिएका छन् । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा टिकट दिएपछि रामकल्याणले मनोनयन दर्ता गराएका छन् ।

एमालेका नेता प्रभु साहले पनि पत्नी रेनु साहलाई मेयरको टिकट दिएका छन् । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा रेनुले मनोनयन दर्ता गराएकी छिन् । रेनु यसअघि पनि मौलापुरको मेयरमा निर्वाचित भएकी थिइन्  ।

एमालेका नेता बबन सिंहले पनि पत्नी अंशु सिंहलाई रौतहटको राजदेवी नगरपालिकाको मेयरमा उम्मेदवार बनाएका छन् । अंशु यसअघि उप–प्रमुख थिइन् ।

जसपाका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले श्रीमती मधुलिका रानीलाई रौतहटको देवाही–गोनाहीको मेयरमा उम्मेदवार बनाएका छन् । यसअघि देवाही–गोनाहीमा धर्मेन्द्र मेयर थिए । धर्मेन्द्र ५ लाख घुस लिएपछि रंगेहात पक्राउ परेका थिए । धर्मेन्द्रले पत्नीलाई मेयरको उम्मेदवार बनाएका छन् ।

रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेस नेता बालकृष्ण खाणका भाई रामकृष्ण खाण मेयरमा उम्मेदवार बनेका छन् । रामकृष्ण खाण रुपन्देही कांग्रेसका जिल्ला सभापति पनि हुन् ।

माओवादीका नेता एवम् लुम्बिनी प्रदेश सभामुख पूर्णबहादुर घर्तीले पत्नी सीता आचार्यलाई रोल्पामा वडा सदस्यको उम्मेदवार बनाएका छन् ।

कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले दैलेखको नारायण नगरपालिकाको मेयरमा साली निर्मला खड्कालाई टिकट दिएका छन् ।

कांग्रेस नेता एवम् कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले छोरा गणेशबहादुर शाहीलाई दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको मेयरको टिकट दिएका छन् ।

एमालेको प्रदेश कमिटीका अध्यक्ष विनोद शाहले श्रीमती लक्ष्मीदेवी शाहलाई दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएका छन् ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काकी बहिनी तप्ता थापा पनि एमालेबाट नगरपालिकाको उम्मेदवार बनेकी छिन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेश अध्यक्ष विमला केसीका पति वसन्तकुमार शर्माले रुकुम पश्चिमको मुसीकोट नगरपालिकाको मेयरको टिकट पाएका छन् । अध्यक्ष केसीले पति शर्मालाई टिकट दिएकी हुन् ।

माओवादी नेता एवम् अर्थमन्त्री शर्माका मामाका छोरा लक्ष्मीप्रसाद शर्मा ‘आकाश’लाई बर्दियाको मधुवन नगरपालिकाको मेयरको टिकट दिइएको छ ।

माओवादी केन्द्रका प्रदेश इन्चार्ज हितराज पाण्डेकी छोरी वन्दना पाण्डेले गोरखाको पालुङटार नगरपालिकाको उप–मेयरमा टिकट पाएकी छिन् ।

गोरखामा जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष यानप्रसाद भट्टकी श्रीमती सञ्जु नेपालीले टिकट पाएकी छिन् ।

माओवादी केन्द्रका जिल्ला इन्चार्ज एवं पूर्वसांसद गोविन्द पौडेलले बुहारी ज्योति लामिछानेलाई बेनी नगरपालिकाको उप–मेयरको टिकट दिएका छन् ।

पर्वतको मोदी गाउँपालिका अध्यक्षमा एमालेबाट हीरादेवी शर्माले अध्यक्षको टिकट पाएकी छिन् । शर्मा एमालेका नेता एवम् राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाकी काकाकी छोरी हुन् ।

तनहुँको व्यास नगर प्रमुखमा कांग्रेस नेता गोविन्दराज जोशीले छोरा दीपक जोशीलाई उठाएका छन् । कांग्रेसबाट उम्मेदवारी नपाउने भएपछि जोशीले एमालेसँग तालमेल गरी छोरालाई उम्मेदवार बनाएका हुन् ।

एकीकृत समाजवादीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले दिदीलाई उपाध्यक्ष र भाइलाई वडाध्यक्षको उम्मेदवार बनाएका छन् ।

चौधरीकी दिदी शान्ति चौधरीले दाङको गढवा गाउँपालिकाको उपाध्यक्षमा टिकट पाएकी छन् । भाइ पुरन शर्माले गढवा–७ मा वडाध्यक्षको उम्मेदवारी दिएका छन् ।

सिन्धुलीको सुनकोसी गाउँपालिकामा माओवादी केन्द्रकी दीपा बोहोरा दाहाल उम्मेदवार बनेकी छन् । निर्वतमान गाउँपालिका अध्यक्ष उनी वागमती प्रदेससभा सदस्य एवं माओवादी केन्द्रका जिल्ला इन्चार्ज लेखनाथ दाहाल ‘राजन’ की पत्नी हुन् ।

Published : Wednesday, 2022 April 27, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया