ललितपुरमा मेयरमा मनोनयन दिएका चिरिबाबुलाई तनाब, मञ्जली पनि डराइन्

काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट ललितपुर महानगरपालिकाका मेयरको पदमा मनोनयन दर्ता गराएका चिरिबाबु महर्जनविरुद्ध उजुरी परेको छ ।

उजुरीपछि महर्जन तनाबमा परेका छन् । महर्जनविरुद्ध २ अर्ब १५ करोडभन्दा बढी बेरुजु फर्छ्योट नगरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा विरोधको उजुरी परेको छ ।

ललितपुर वडा नम्बर १८ का गोपाल डंगोलले महर्जनको कार्यकालमा बेरुजु रहेको जनाएका छन् । डंगोलले नै महर्जनविरुद्ध उजुरी दिएका हुन् ।

महानगरपालिकाको बेरुजु महालेखा परीक्षकको प्रतिवेदनमै रहेको भन्दै महर्जनको उम्मेदवारी रद्द हुनुपर्ने माग गरिएको छ ।

उता, एमालेको तर्फबाट ललितपुर महानगरपालिकाको उप–मेयरमा उम्मेदवारी दर्ता गरेकी मञ्जली शाक्यविरुद्ध उजुरी परेको छ ।

उनीविरुद्ध ज्ञानबहादुर खड्गीले उजुरी दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालय शाक्यविरुद्ध उजुरी परेको जनाएको छ ।

शाक्यको नाम एमालेले निर्वाचन आयोगमा पेस गरेको समानुपातिकतर्फको बन्दसूचीमा कायमै रहेको भन्दै उनीविरुद्ध उजुरी परेको छ ।

बन्दीसूचीमा नाम रहेका व्यक्ति स्थानीय तहको उम्मेदवार बन्न नपाउने व्यवस्था छ ।

Published : Tuesday, 2022 April 26, 11:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया