कांग्रेस हराउन एमालेसँग मिलेर जिल्लाभरि बागी उठाउने नेतालाई सानेपाले दण्ड दियो

काठमाडौं । एमालेसँग मिलेर स्थानीय तहको निर्वाचनमा डडेल्धुरा जिल्लाका सबै पालिकामा बागी उम्मेदवार उठाएका पूर्वसभापति कर्णबहादुर मल्ललाई कारबाही भएको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति शेरबहादुर देउवाले मंगलबार मल्ललाई कांग्रेसको साधारण सदस्य समेत नरहेन गरी कारबाही गरेका हुन् ।

‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ’, मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पूर्वसभापति मल्लले सभापति देउवाविरुद्ध व्यक्तिगत रुपमा इगो राखेर जिल्लामा राजनीति गर्दै आएका थिए । १४औँ महाधिवेशनका क्रममा मल्लले ठूलो असहयोग गरेका थिए ।

मल्लले डडेल्धुरा कांग्रेसको अधिवेशन बिथोल्नका लागि नेता शेखर कोइराला, अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, विमलेन्द्र निधिलाई प्रयोग गर्ने प्रयास गरेका थिए ।

स्थानीय तहको निर्वाचनमा मल्लले डडेल्धुराका सबै पालिकामा आफू निकटका नेताहरूलाई एमालेसँग तालमेल गरेर कांग्रेसका आधिकारिक उम्मेदवारहरूविरुद्ध मनोनयन दर्ता गराएका थिए ।

मल्लको हर्कतले हदैसम्म सीमा नाघेपछि सभापति देउवाले बाध्य भएर कारबाही गरेर पार्टीबाट निष्काषन गरेका छन् । मल्लकै कारण गएको स्थानीय तहको निर्वाचनमा डडेल्धुरामा कांग्रेसले ठूलो नोक्सानी व्यहोर्नुपरेको थियो ।

अधिकांश पालिकाहरूमा कांग्रेसले हारेको थियो । मल्लले एमालेलाई जिताउन भूमिका खेलेका थिए । मल्लले डडेल्धुराबाट सभापति देउवालाई प्रतिनिधि सभाको निर्वाचनमा हराउन भूमिका समेत खेलेका थिए ।

Published : Tuesday, 2022 April 26, 11:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया